Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बन्द गराउन निस्किए प्रचण्ड–नेपाल समूहका कार्यकर्ता, प्रहरीले थाल्यो धरपकड

काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् भने प्रहरी प्रशासनले धरपकड पनि उस्तै गरिरहेको छ । बिहानैदेखि सडकमा निस्किएका केही नेता कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता कार्यकर्ता प्रदर्शनसहित सडकमा निस्किएका हुन् ।
बन्द गराउन रत्नपार्कबाट नेता कार्यकर्ताको जुलुस नै निस्केको छ । अन्य चोक र सडकमा पनि कार्यकर्ताहरु निस्किएका छन् । बिहानै कलंकीबाट नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता कार्यकर्ता भने पक्राउ परिसकेका छन् ।
बन्द गराउन सड्कमा निस्केका नेता कार्यकर्ता धमाधम पक्राउ परेका छन् । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७१ जनालाई पक्राउ गरिएको छ । काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको बताइएको छ । कलंकीबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता हितमान शाक्य र अष्टलक्ष्मी शाक्य सहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महाराजगञ्ज स्थित सशस्त्र प्रहरी गण नम्बर–२ मा राखिएको छ ।
आमहड्ताल गराउन शान्तिबाटीकामा नेकपाका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा ४० जनाको समूह निस्केको छ । सातदोबाटोमा देव गुरुङ र गोंगबुमा हिमाल शर्माको नेतृत्वमा प्रदर्शन गरिएको छ । यता, बिहीबार बिहानै गोंगबुमा एउटा ट्याक्सीमाथि आगजनीसमेत भएको छ । दुई अज्ञात व्यक्तिहरुले ट्याक्सीमाथि आगजनी गरेको बताइएको छ । गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो ।