Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेपाली काँग्रेसले बागमती प्रदेशका ४ जिल्लामा आज वडा अधिवेशन गर्दैछ । सकेसम्म नेतृत्व चयनका लागि सर्वसम्बत गर्ने अभियानमा नेताहरु लागेका छन् । ललितपुर, नुवाकोट, धादिङ र चितवनमा काँग्रेसले वडा अधिवेशन गर्न लागेको हो ।
ललितपुरमा अधिवेशनको तामझाम
६ वटा स्थानीय तह रहेको ललितपुरमा काँग्रेसको वडा अधिवेशनको रौनक छाएको नेता रामकृष्ण चित्रकारले बताएका छन् । ६ वटा स्थानीय तहका ७१ वटै वडा एकैसाथ सुरु भएको कांग्रेसको वडा अधिवेशनले कार्यकर्ताहरूमा उत्साह थपेको उनले बताएका छन् । ५ ५ हजार पुराना र नयाँ गरी कुल १० हजार क्रियाशिल सदस्य रहेको ललितपुरका सबै वडाहरूमा सर्वसम्मत रुपमा सहमती गरेर नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । आजको अधिवेशनबाट प्रति वडा न्युनतम १६ र अधिकतम ३६ जना प्रतिनिधिलाई नेतृत्वमा चयन गर्ने उनले बताएका छन् ।
नुवाकोटमा ३२ वडामा सर्वसम्मत
नुवाकोटको सबै स्थानीय तहको वडाहरूमा अधिवेशनको लागि मतदान अधिकृत खटाइसकेको छ । जिल्लाका १२ वटा स्थानीय तहका ८८ वटा स्थानीय तहमा सोमबार बिहानैदेखि अधिवेशनको रौनक छाएको नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बताएका हुन् । उनका अनुसार जिल्लाका ८८ वटा वडा मध्ये ३२ वटा वडामा आन्तरिक छलफलबाट नेतृत्वको लागि सहमति जुटिसकेको छ भने प्रक्रियागत रुपमा घोषणा गर्न भने बाँकी रहेको छ । अन्य वडाहरूमा भने सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न प्रयास भइरहेको उनले बताए । ८ हजार ९७२ जना नयाँ र ५ हजार ६५६ जना पुराना गरी कुल १४ हजार ६२८ जना क्रियाशिल सदस्यहरुले अधिवेशनमा भाग लिने बताए । नुवाकोटको वडा अधिवेशनबाट १ हजार ८ सयभन्दा बढी व्यक्ती नेतृत्वको लागि चयन हुने उनको भनाइ छ ।
धादिङमा सर्वसम्मतिको प्रयास
१२ हजार क्रियाशील सदस्य रहेको धादिङमा प्रायजसो वडाहरूमा सोमबार बिहानैदेखि चुनावी माहोल बनेको नेपाली कांग्रेस धादिङबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य राजाराम कार्कीले जानकारी दिए । हर्ष उल्लासका साथ नेपाली कांग्रेस धादिङ वडाहरूको नेतृत्व चयनका लागि जुटेको उनले बताए । १२ वटा स्थानीय तहका १०४ वटा वडामा एकैसाथ अधिवेशन सुरु भएको र सबै वडाहरूमा सर्वसम्मत रुपमा वडाको नेतृत्व चयनको लागि प्रयास भइरहेको उनले बताए । सम्भव रहेसम्म सर्वसम्मत रुपमा नेतृत्व प्रदान गर्ने गरी छलफल भइरहेको र सहमतिको प्रयास विफल भए निर्वाचन प्रक्रियामा जानु पर्ने भएकाले भोलीसम्म समय लाग्ने उनको भनाई छ ।
सर्वसम्मत नेतृत्व दिने प्रयासमा चितवन
२ हजार ९ सय प्रतिनिधिहरूलाई नेतृत्व प्रदान गर्ने कार्यमा चितवनमा सक्रिय रुपमा वडा अधिवेशन सम्पन्न गर्न लागिएको छ । सवै वडाहरूमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरी आज नै अधिवेशन सक्ने गरी मतदान अधिकृतहरूले काम गरिरहेको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले बताएका छन् । ७ स्थानीय तह रहेको चितवनमा ९८ वटा वडाहरू रहेका छन् । सबै वडाहरूमा मतदान अधिकृतहरूले अधिवेशनलाई सौहार्दपूर्ण वातावरणमा जारी राखेको उनको भनाई छ । १७ हजार ८४ जना नयाँ र १० हजार ८०७ जना पुराना गरी कुल २७ हजार ८५५ जना क्रियाशिल सदस्यहरुले नेपाली कांग्रेस चितवनको वडा अधिवेशनमा भाग लिने उनले बताए ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल