Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बादल पनि छन् धेरै जोखिममा

काठमाडौं । दश वर्षे जनयुद्धका सारथीहरु अहिले तितरबितार भएका छन् । पछिल्लो पटक नेकपाको विभाजनमा सत्तामा रहेका दुई चार जना माओवादीका नेता प्रधानमन्त्री केपी ओलीको खेमातिर लागेपछि जयुद्धका घाइते खोज्न समेत प्रधानमन्त्री ओली तयार भएका बेला फेरि पूर्व माओवादीलाई तह लगाउने त होइन भन्ने आशंका बढेर गएको छ । प्रदेश नम्बर २ को प्रदेश प्रमुखबाट हटाइएका तिलक परियार गृहमन्त्री रामबहादुर थापा बादल निकट हुन् । उनलाई मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी हुन् । तर, मन्त्रिपरिषदले परियारलाई पदमुक्त गर्ने सिफारिश गरेकोबारे गृहमन्त्री रामबहादुर थापा बादल नै बेखबर भएको बुझिएको छ । यसअघि नेकपाको ओली समूहले जनयुद्ध दिवस नमनाएकोमा बादल असन्तुष्ट भएका थिए । युवा संघको पुनःसंरचना गर्दा आफ्नो पक्षकालाई बेवास्ता गरेको भन्दै बादल पक्षले बहिष्कार नै गरेको थियो । संवैधानिक निकायमा नियुक्तिमा बादललाई दिइएको आश्वासन पूरा भएन । उनी निकट कुनै व्यक्ति पनि नियुक्तिमा परेनन् । यसबाट बादल निकै असन्तुष्ट भएको बुझिएको छ । दावा लामालाई खेलकुदमन्त्री बनाउने बाहेक ओलीले बादललाई बेवास्ता गरेका छन् । विश्वस्त स्रोतका अनुसार बादलसँग नजिक रहेका स्थायी कमिटीका कुनै सदस्य ओली समूहमा आएनन् । केन्द्रीय कमिटीका नेताहरु मध्ये एकाधमात्र आए । यसबाट पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बादलको शक्ति कमजोर देखेर महत्व दिन छाडेका छन् । यसैगरी, आफूलाई बेवास्ता गर्न थालेको भन्दै बादलले निकटस्थहरुसँग परामर्श बढाएका छन् । ओलीबाट एकपछि अर्को धक्का परेपछि उनी गम्भीर बनेका छन् । उनले परिस्थिति हेरेर फरक खालको कदम चाल्ने तयारी पनि थालेको बुझिएको छ ।