Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाल अस्पतालका लागि सहयोग जुटाउन डा भगवान कोइराला बेलायत जाँदै

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा बनाउने लक्ष्य लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन चर्चित मुटुरोग विशेषज्ञ डा भगवान कोइराला बेलायत जाँदै छन्। गत शनिबारको एक भर्चुएल अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले त्यस्तो जानकारी दिएका हुन्। उनी जुलाई महिनाको दोस्रो साता बेलायत जाने कार्यक्रम रहेको बताइएको छ। डा कोइरालाले नेपालमा गएको १५–२० वर्षमा बाल स्वास्थ्य सेवा प्रवाहमा सुधार भएता पनि त्यस्तो सेवा राजधानीमा मात्रै सीमित रहेको र बालबालिकाको ज्यान जोगाउन देशभरि नै गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक भएकाले साथीहरुसँग मिलेर आफूले यो अभियान शुरु गरेको बताए। कोशी प्रदेशको जनसंख्या झन्डै ५० लाख छ, त्यसमध्ये बालबालिकाको संख्या झन्डै २० लाख छ। सिङ्गै प्रदेशमा एउटा पनि बाल अस्पताल नभएकाले हाम्रो संस्थाको पहलमा दमकमा बाल अस्पताल निर्माण गरी सेवा पनि शुरु भै सकेको छ, डा कोइरालाले भने, उक्त अस्पतालका लागि झन्डै २० करोड रुपियाँ सहयोग जुटीसकेको छ र सहयोग आउने क्रम जारी छ। सबै सहयोगी मनहरुलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं। डा कोइरालाले काठमाडौँको हेपाली हाइटमा पनि सबै नेपालीको पहुँच हुन सक्ने एउटा सुविधासम्पन्न बाल अस्पताल निर्माण गर्ने काम अगाडि बढीरहेको र अन्य प्रदेशहरुमा पनि बाल अस्पताल निर्माणका लागि कुराकानी भै रहेको बताए।
सरकारले मात्रै यो काम सम्पन्न गर्न सक्दैन। उसका अरु प्राथमिकताहरु पनि छन्। त्यसैले नेपालभित्र र संसारभरि रहनु भएका नेपालीहरुलाई मन खोलेर सहयोग गर्न म आग्रह गर्दछु, उनले भने। सहयोगको रकम दुरुपयोग नहुने र एक(एक पैसाको हिसाब किताब सार्वजनिक गरिने पनि डा कोइरालाले बताए।
नेप्लिज डक्टर्स एसोसियसन युकेका पूर्व अध्यक्ष तथा डा कोइरालाका सहपाठी डा रमेश कोजुले डा कोइरालासंगै प्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइतलाई पनि बेलायत निम्त्याउने तयारी भइरहेको बताए। उनले बेलायतमा कार्यरत नेपाली चिकित्सक तथा नर्सहरु आफुले सिकेको सीप नेपाल र नेपालीको हितमा उपयोग गर्न इच्छुक रहेको पनि जनाए। उक्त भर्चुयएल बैठकको संयोजन गरेका बेलायतस्थित समाजसेवी शिवजी श्रेष्ठले नेपालमा विपन्न बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी अमूल्य जीवन जोगाउने यो अभियानमा जोडिन पाएकोमा खुसी व्यक्त गरे। उनले बेलायतस्थित सबै नेपाली संघसंस्था तथा नेपाली समुदायलाई यो अभियानलाई सक्दो सहयोग गर्न आग्रह पनि गरे।
उक्त अन्तरक्रियामा बेलायतस्थित नेपाली दूतावासकी उप नियोग प्रमुख रोशन खनाल लगायत बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति थियो। किओचको अध्यक्ष डा कोइराला रहेका छन् भने अन्य सदस्यहरुमा दीपकराज सापकोटा, गोविन्दप्रसाद अधिकारी, विरेन्द्रबहादुर बस्नेत, डा ज्योतिन्द्र शर्मा, भुवन दाहाल र भवानी राणा छन् ।