Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालकृष्णको पुरानो विरासत कायम रहला ?

काठमाडौं । भ्रष्टाचारीलाई भागवण्डाका आधारमा अदालतले सुनपानी छर्किए पनि जनताको नजरबाट चोखिन सक्दैनन् । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसमा प्रभावशाली मानिने नेता बालकृष्ण खाण ७ महिना थुनामा बसेर २९ मंसिरमा केन्द्रीय कारगारबाट घर फर्केका छन्। भुटानी शरणार्थी प्रकरणका अभियुक्त खाण सार्वजनिक जीवनमा फर्केसँगै अबको आमजिज्ञासा बनेको छ– के उनी सक्रिय राजनीतिमा पनि फर्कन सक्छन् । यस प्रश्नको उत्तर खोज्नुअघि उनीमाथिको कानुनी प्रश्न र अदालती प्रक्रियाबारे स्पष्ट हुन आवश्यक छ।

ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध र, संगठित अपराध भुटानी शरणार्थी प्रकरणमा यी चारवटा अभियोगमा मुद्दा दायर भएपछि काठमाडौँ जिल्ला अदालतले खाणलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। अर्थात्, मुद्दाको फैसला नभएसम्म थुनामै बसेर प्रतिवाद गर्नुपर्ने जिल्लाको आदेश थियो। उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाडिदियो। यसको अर्थ उनले अभियोगबाटै सफाइ पाए भन्ने होइन। मुद्दा सकिएको पनि छैन। केवल धरौटी बुझाए थुनामा बस्नु नपर्ने मात्र भनेको हो। ३० लाख रुपैयाँ धरौटी बुझाउने हैसियत उनीसँग हुँदैनथ्यो भने थुनामै बस्नुपर्ने थियो। अर्थात्, खाणमाथि जुन अभियोग लागेको थियो, त्यो जस्ताको तस्तै छ। थुनाबाहिर भए पनि उनी चारवटा गम्भीर फौजदारी कसुरका अभियुक्त बनेर नै हिँड्नुपर्नेछ, अदालतले सफाइ नदिएसम्म। खाणलाई गत वैशाख २७ गते चाबहिलस्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। गृहमन्त्री छँदा नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुलिरहेको एउटा गिरोहलाई सहयोग र संरक्षण दिएको मुख्य अभियोग छ खाणमाथि। यही प्रकरणमा उनका सहयोगी नरेन्द्र केसी र निकट कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध पनि मुद्दा यथावत् छ। केसी उच्च अदालतकै आदेशले १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् भने शेर्पा थुनामै छन्। खाण नै मन्त्री छँदाका गृह सचिव टेकनारायण पाण्डेसमेत थुनामै छन्। अर्थात्, यस प्रकरणमा खाण एक्लै मुछिएका छैनन्। उनको सहयोगीको घेरो नै तानिएको छ। श्रीमती मञ्जु खाणविरुद्ध समेत प्रहरीले अनुसन्धान अघि बढाउन खोज्दा जिम्मेवार अधिकारीहरूलाई सरुवा गरेर तत्कालका लागि ‘सम्भावित जोखिम’ टारिएको छ। कतिसम्म भने यस प्रकरणको अनुसन्धानका लागि पहलकदमी लिने प्रहरी अधिकारीलाई जस्तै गरी खेदिएको छ, थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई। उनलाई काठमाडौ अदालतमा एक वर्ष पनि पूरा काम गर्न नदिई रुकुमकोट अदालत पठाइएको छ। त्यसैगरी खाणविरुद्ध अभियोगपत्र तयार गर्ने र अदालतमा बहस गर्ने सरकारी वकिललाई पनि हटाइसकिएको छ।
आफ्नो बचाउका लागि शक्तिशाली हुन् वा शक्तिहीन, जोकोहीले सकेको गर्छन् भन्ने नै मानौँ। किनभने, आफूमाथि कुनै आरोप लाग्यो र राज्यका जिम्मेवार निकायले अनुसन्धान र अभियोजन नै अघि बढाए भन्दैमा शक्तिबाट अलग भइहाल्ने सभ्य समाजमा हामी कहाँ छौँ र ? पार्टी भ्रष्ट हुँदैनन्, नेता भ्रष्ट हुन्छन्। संस्थाले अपराध गर्दैन, व्यक्तिले अपराध गर्छ। व्यक्तिमाथि लागेको आरोप व्यक्तिले नै सामना गर्नुपर्छ र केवल व्यक्तिकै रूपमा सफाइ पेस गर्नुपर्छ। यो कुरा लोकतन्त्रका लागि राणाकालदेखि नै लडेको पार्टी नेपाली कांग्रेसलाई भन्दा बढ्दा कसलाई थाहा होला र ? तर, यस्ता कुरा नैतिकता, सदाचार र सुशासनका कक्षामा मात्र काम लाग्छन्। सुशासनसम्बन्धी अध्येता समाजशास्त्री दीपेश घिमिरे खाणको राजनीतिक पुनरागमनको सम्भावनाबारे चर्चा गर्दा कांग्रेसकै विगततिर हेर्न सुझाउँछन्। भ्रष्टाचार अभियोगमा दोषी प्रमाणित भई १४ महिना कैद बसेर २०७० असोजमा निस्केका खुमबहादुर खड्कालाई नमुना घटना मान्न सकिने उनको भनाइ छ। अबिरजात्रा त यहाँ हत्या र बलात्कार मुद्दाका दोषीले पनि कारागारको ढोकैदेखि पाउँछन्। तर, खड्काका हकमा यिनै शेरबहादुर देउवाले आफूपछिको दोस्रो वरीयतामा राख्ने गरी उपसभापति नै बनाउँछु भनेर आफ्नो पक्षमा उभ्याए। कार्यकर्ताले पनि लोकप्रिय नेताको सूचीमा दोस्रो धेरै मत दिएर बढाइँ गरे। विचाराधीन मुद्दामा सत्तारुढ दलका सर्वोच्च नेताको यो अभिव्यक्ति स्वतन्त्र न्यायालय र स्वच्छ सुनुवाइको अभ्यासका निम्ति कति ग्राह्य रह्यो भन्ने कुरा नेपाल बार एसोसिएसन र न्यायाधीश समाजको मौनताबाट प्रस्टै हुन्छ। गम्भीर फौजदारी कसुरका अभियुक्तका रूपमा थुनामा रहेका खाणलाई कांग्रेस सभापति देउवाकै करकमलबाट सार्वजनिक मञ्चमा ‘सम्मान’ नै गरिसकेपछि त अब के गर्न हुने र के गर्न नहुने भन्ने कुराको नैतिक सीमा नै बाँकी रहेन। अपराध र राजनीतिको साइनो–सम्बन्धलाई नजिकबाट नियालेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक हेमन्त मल्ल भन्छन्, ‘यस्तो सिमाना देउवासँग खोज्नु त झनै असंगत हुन्छ, जो गृहमन्त्री छँदा नै प्रहरीमा धुन्धुकारी हस्तक्षेपका शृंखलाको सुरुवात भयो र निरन्तर चलिरहेको छ।’ हो, खाण लोकतन्त्रका लागि लडेका नेता हुन्। कांग्रेसभित्र उनको बलियो पकड छ। आन्तरिक समीकरण यताउता पार्न सक्ने तागत उनीसँग छ। नत्र कांग्रेसका इतर खेमाका नेता शेखर कोइराला बारम्बार कारागारमै पुगेर कानेखुसी गरिरहनुपर्ने थिएन। आफ्नै पार्टी सरकारमा हुँदा पनि आफ्नो यो गति भएको देखेर खाण विरक्तिँदै अर्को खेमातिर लाग्दा आफ्नो के गति हुने हो भन्ने देउवालाई पनि लाग्नु स्वाभाविक थियो, जुन रुपन्देही पुगेर व्यक्त भयो।
सरकारी लिखत किर्ते र राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहँदा स्वतन्त्र अनुसन्धानलाई सघाउन न पार्टीले जिम्मेवारीबाट अलग गर्‍यो, न आफै जानेर खाण अलग भए। बरु थुनामै रहेका बेला पार्टीले सम्मान गर्‍यो। पार्टी नेतृत्वले अदालतले छाडिदिने घोषणा गर्‍यो। नभन्दै खाण छुटे। पार्टीमा उनलाई स्वागत हुने नै छ। उनलाई शक्तिकेन्द्र मानेर गोलबद्ध हुने कार्यकर्ताको कमी हुने छैन। हो, अदालतले सफाइ नदिएसम्म खाण अभियुक्त नै रहनेछन्। तर, उनको राजनीतिक सक्रियता पार्टी र कार्यकर्ताले नरोकेसम्म निरन्तर अगाडि बढ्नेछ। तसर्थ, खाण राजनीतिमा वर्जित भइसकेका छैनन्, स्वागतका तुल बोकेर जोकोही उनका लागि बाटो ढुक्न यहाँ तयार छन्।