Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङ एक भएर देश विकास पार्टी अघि बढाउने लगभग टुंगो लागेको छ। घिसिङनिकट उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भए पनि अब दुवै जना देश विकास पार्टीमै संलग्न भएर राजनीति अघि बढाउन सहमत भएको कुलमान र बालेनसँग नजिक रहेर काम गरिरहेका स्रोतहरूले बताए। देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता छ। यसको अध्यक्ष सन्ध्या खनाल छिन् भने चुनाव चिह्न लौरो छ। लौरो चिह्नबाटै २०७९ को स्थानीय तह निर्वाचनमा बालेन काठमाडौंको मेयर निर्वाचित भएका थिए। बालेन र कुलमानबीच देश विकास पार्टीबाटै प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार उठाउने सहमति पनि भएको छ र सोहीअनुसार शनिबारसम्म ११० क्षेत्रका उम्मेदवार तय गरेर पुस १३ र १४ गते निर्वाचन आयोगमा सूची बुझाउने तयारी भएको बालेन र कुलमाननिकट स्रोतले जानकारी दिए। मेयर बालेनले कुलमानसँग मात्र होइन, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतसँग पनि छलफल गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरू नयाँ पार्टी र स्वतन्त्र व्यक्तिहरूलाई समेटेर देश विकास पार्टीलाई अघि बढाउन लागिएको उनीहरूले बताएका छन्। सिके राउत, रेशम चौधरी, अमरेशकुमार सिंहलगायतसँग पनि मेयर बालेनले भेटेर कुराकानी गर्नुभएको छ, उनीनिकट स्रोतले भन्यो, रक्षा बमलगायत जेनजी अभियानीहरूसँग पनि कुरा भएको छ। सबैलाई समेटेर देश विकास पार्टीलाई अघि बढाउने तयारी छ। रेशम चौधरी आफूहरू मिलेर जाने कुरा सञ्चार माध्यमहरूमा बताएका छन्। रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच हालै कमलपोखरीमा ६ घन्टा छलफल भएको थियो। त्यसबेला उनीहरूबीच कुनै ठोस सहमति बन्न नसकेको बालेननिकट स्रोतले बतायो। रवि र बालेन दुवै जना कसरी मिलेर अघि बढ्ने भन्नेबारे मंगलबारसम्म रास्वपाले ठोस धारणा पठाउने सहमति भएको थियो। रविले बुधबार बिहानसम्म प्रस्ताव पठाउने भन्दै खबर गरे पनि बुधबार बिहानसम्म पनि ठोस प्रस्ताव नआएपछि बालेनले आफै अघि सरेर देश विकास पार्टीमा रास्वपाबाहेकलाई दल र मानिसलाई समेट्ने प्रयास सुरू गरेको स्रोतले बताएको छ। सोमबार रास्वपा सभापति रवि लामिछानेसँग कुराकानी भए पनि डिटेल केही कुरा भएको छैन। मंगलबार ठोस कुरा गर्ने, भेट गर्ने भने पनि रवि बाहिर हुँदा भेट भएन र ठोस कुरा पनि आएन। खालि रास्वपामा आइराख्नु भन्ने खालको कुरा मात्रै आएपछि उहाँ देश विकास पार्टी अघि बढाउन लाग्नुभएको हो, उनीनिकट स्रोतको भनाइ छ, तैपनि मेयर बालेनले अन्तिममा एक पटक रास्वपासँग कुरा गर्छु भन्नुभएको छ। कुलमान घिसिङले पार्टी खोल्दा नाम के राख्ने भन्नेबारे छलफल भएको थियो। त्यसबेला सुरूदेखि कुलमानले उज्यालो नेपाल पार्टी राख्न चाहे पनि नेता सुमना श्रेष्ठले देश विकास पार्टी नाम राख्न सुझाएकी थिइन्। उज्यालो नेपाल पार्टी राख्यो भने कुलमानको व्यक्तिगत पार्टीजस्तो हुन्छ भनेर उनले असहमति जनाएकी थिइन्। मेयर बालेन शाहले बुधबार राजनीतिक भेटघाट तीव्र बनाएका छन्। उनले नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउत, चिकित्सक डा। भगवान कोइराला र जेनजी अभियानका रक्षा बम, सागर ढकाल, केपी खनाल, अभिनेता निश्चल बस्नेत लगायतसँग छलफल गरेका थिए। उनले भेटघाटको केन्द्र भने आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुरस्थित कुपण्डोलमा रहेको निवासलाई बनाएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउने दिन नजिकिएपछि बालेनले आफ्नो तर्फबाट गृहकार्य अघि बढाएका हुन्। प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गतेभित्र बन्दसूची बुझाइसक्नुपर्छ। साथै बालेनले फागुन २१ को प्रतिनिधि सभा चुनाव लड्न १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारहरू पनि खोजिरहेका छन्।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल