Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिदा मागेका खड्कालाई बालेनले गरे सधैंका लागि बिदा

काठमाडौं । चर्को दबाव खेप्न नसकेर काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्र खड्काले राजीनामा दिएका छन् । खड्काले अघिल्लो साता पारिवारिक कामले लामो छुट्टी मागेका थिए । तर, मेयर बालेन शाहले लामो छुट्टीमा बस्नुभन्दा राजीनामा नै दिन दबाब दिएपछि उनले गत शुक्रबार राजीनामा बुझाएका हुन् । योजनाको काममा लाग्नुपर्ने बेला उपाध्यक्षले लामो विदा मागेपछि उनीसँग राजीनामा माग गरिएको बालेनका स्वकीय सचिव भूपदेव शाहले बताएका छन् । खड्कालाई २६ पुसमा काठमाडौं महानगरपालिकाले योजना आयोगको उपाध्यक्षमा नियक्त गरेको थियो । उनले ७ महिनामै राजीनामा दिएर बाहिरिएका छन् । परिवारिक कामका कारण आफूले समय दिन नसकेपछि राजीनामा दिएको खड्काले बताएका छन् ।
बालेनका स्वकीय शाहका अनुसार बिहीबार बस्ने कार्यपालिका बैठकले डा. सुमननरिसंह राजभण्डारीलाई नयाँ उपाध्यक्षमा नियुक्ति गर्दैछ । राजभण्डारी बालेनसँग निकट स्ट्रक्चरल इन्जिनियर हुन् । इन्जिनियरिङमै विद्यावारिधि गरेका राजभण्डारीलाई मेयर हुनुअघि बालेनले इन्जिनियरिङको काममा सहयोग गर्दै आएका थिए । अध्ययन तथा काममा राजभण्डारीले बालेनलाई गुरुले जसरी नै सिकाउने गरेको उनी निकट स्रोतले बतायो । मेयर बालेनका भौतिक पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि राजभण्डारीनिकट हुन् । सन् २०१९ मा लम्सालले डिबी मल्टी इन्जियिरिङ कन्सल्टमा राजभण्डारीसँगै काम गरेका थिए । सोही बेला कम्पनीले लिभरपुल कलेज, दमक कम्प्लेक्स, पाँचखाल तरकारी बजारलगायतको डिजाइन गरेको थियो । राजभण्डारीको नियुक्तिमा स्वार्थको द्वन्द्व नहुने बालेनका भौतिक पूर्वाधार सल्लाहकार लम्साल भने बताउँछन् । चालु आर्थिक वर्षमा सहरी योजना आयोगमा महानगरले ४ करोड ९० लाख रुपैयाँ बजेट रहेको विनियोजन गरेको छ । मेयर भएपछि बालेनले आयोगलाई थप बलियो बनाउँदै गएका छन् । योजना आयोगका उपाध्यक्षले मेयर र कार्यपालिका मार्फत बजेटमा योजनाहरुको छनोट लगायतको काम गर्छ । महानगरको सहरी योजना आयोगको उपाध्यक्ष हुन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेर सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेर विशिष्टता हासिल गरेको हुनुपर्ने उल्लेख छ ।