Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बीपीका कृतिहरू विगार्ने षडयन्त्र

धनञ्जय बराल

बीपी कोइरालाका कृतिहरूलाई नजानिदो किसिमले बंग्याउने अनि आफू अनुकुल बीपीको विचार भनी व्याख्या गर्ने प्रवृति केही समयदेखि देखापर्दै आएको थियो । अहिले आएर खुलेआम अति निर्लज्ज र अपराधिक किसिमले बीपी कोइरालाको राजनैतिक र साहित्यिक कृतिहरूको महत्वपूर्ण अंश र ती कृतिहरूले दिएको सन्देशलाई नै हटाई, बीपीका कृतिहरूलाई कुरुप मात्र नपारी, साहित्यमा बी.पी.को ठाउँ र स्तर केही छैन । राजनैतिक कृतिहरूमा पनि बीपीको गहन र मनन्योग्य विचार छैन भन्ने देखाउन र बीपीको व्यक्तित्वलाई धमिल्यउने घृणित नियतले शोभाकर पराजुलीले ‘बीपीविचार संग्रह’ भन्ने पुस्तक लेखेका छन् र यसलाई ‘शिखा बुक्स’ ले हालै प्रकाशित गरेको छ । बीपीको ‘आफ्नो कथा’, ‘आत्म वृतान्त’ लागायतका कृतिहरू र उहाँका मनोवैज्ञानिक विश्लेषणमा आधारित कथा र उपन्यासहरू सबैमा बीचबीचको महत्वपूर्ण प्याराग्रफ र वाक्यहरूलाई हटाई, तलमाथिका अरु वाक्यहरू बीपीले लेखैकै रुपमा जस्ताको तस्तै राखी तिनीहरूको मूल सन्देश र बीपीले नेपाली जनतासामु राखेको विचारलाई नै गायब पारिएको छ । त्यसरी नै उपन्यास र कथाको मनोविज्ञान र कथानकलाइ गायव गरी
बीपीलाई उत्कृष्ट उपन्यासकार र कथाकार होइनन् भन्ने देखाउने षड्यन्त्र गरिएको छ ।
बीपीको कथा उपन्यास र साहित्यिक कृतिहरू माथि कसैले पनि मनपरेको र मन नपरेको, यति कुरा उचित, यति अनुचित, यति ग्राह्य, यति अग्राह्य भनी आफ्नो मन्त्य प्रकट गर्नसक्छन् । कतिले ती कृतिहरूको वारेमा सकरात्मक र नकरात्मक दुवै पक्षमा लेखिरहेकै पनि छन् । तर ‘बीपीविचार संग्रह’ भनिएको यो पुस्तकमा शोभाकरले आफ्नो विचार प्रकट नगरी, बीपीले लेखेकै भाषालाई हुवहु प्रयोग गरी महत्वपूर्ण प्याराग्राफहरू हटाई सवै कृतिलाई छोट्यार कुरुप र बैचारिक सून्य पारिदिएका छन् । बीपीको राजनैतिक कृतिमा बैचारिक गहनता छैन । सहित्यमा पठनीय वस्तु नै छैन भन्ने देखाउन कसको निर्देशनमा, कसैको अ¥होटमा शोभाकरले बीपीलाई ओझेलमा पार्ने दुस्साहस गरेका हुन् ? कसको भनाईमा शिखा बुक्सले यस्तो षड्यन्त्रको पुस्तक छाप्यो ? यो बीपीको लेखनको उत्कृष्टताले पारेको प्रभावलाई धुमिल पार्ने नियोजित षड्यन्त्र हो । बीपीको राजनैतिक विचार र साहित्यमा हालसम्म दुई दर्जन जति विद्धान र विदुषिहरूले विद्यावारधी गरिसकेका छन् । दर्जनौले विद्यावारिधिको तयारी गरिरहेका छन् । उनीहरूलाई पनि भ्रम पार्न यो पुस्तक लेखिएको हो भन्ने कुरा स्वतः सिद्ध हुन्छ ।

बीपी कोइराला राजनेता मात्र होइन, चिन्तक, विचारक र एक उच्चकोटीको साहित्यकार पनि हो । शोभाकरले बीपीको सबै कृतिहरूलाई अनाधिकृत र वदनियतपूर्ण किसिमले छोट्याएर कृतिको बीचबीचको महत्वपूर्ण र आवश्यक अंशहरूलाई हटाएर तिनीहरूको सारतत्व माथि नै अतिक्रमण गरेका छन् । बीपीको उपन्यास र कथाहरूलाई पनि शोभाकरले जताततैबाट प्याराग्राफ र वाक्यहरू हटाएर, तिनीहरूलाई उपन्यास र कथा भन्नै नसकिने गरी विगारिदिएका छन् । कुनै पनि लेखकका कृतिलाई तोडमोड गर्ने, थपघट गर्ने र भएका वाक्यहरू हटाउने अधिकार कसैलाई हुँदैन । त्यसो गरे त्यसलाई अपराध मानिन्छ । बीपीको कृतिहरू माथि यस्तो अक्षम्य अपराध गर्दा पनि नेपाली कांग्रेस र बीपीको नाउँमा खुलेका संस्थाहरूले हेरेर मात्र बस्न सुहाउँछ ? त्यतिमात्र होइन कि अरु बैचारिक संघ, संस्था, वुद्धिजीवी, साहित्यकार र लेखकहरूको पनि यसमा ध्यान जान आवश्यक छ । वास्तवमा कुनै पनि सिद्ध हस्तलेखकको कृति वाहिर आइसके पछि त्यो कृति सवैको हुन्छ । त्यसलाई विगार्ने छुट कसैलाई हुँदैन । यस्तो कार्यलाई छुट दिइयो भने इतिहास शिरोमणि बाबुराम आचार्य, कविशिरोमणि लेखनाथ पौडेल, लक्ष्मी प्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ र अरु कुनै पनि प्रतिष्ठित कवि, लेखकहरूको कृतिको पनि बीपीको कृतिको जस्तै हालत नपारिएला भन्न सकिन्न ।
बीपीकै कृति पढ्नेहरूलाई पनि के भ्रम पर्ने छ भने बीपीको सही कृति कुन हो ? के शोभाकरले विगारेको कृति नै सही हो भन्ने भ्रम त पर्दैन ? त्यसबेला सबैले बीपी कथाकार र उपन्यासकार नभएको ठोकुवा गरिदिए भने पनि आश्चर्य हुनेछैन । यस्तै स्थिति ल्याउन नै शोभाकरले यो अपराधिक कार्य गरेको हुन । यसमा देशका सबै प्रबुद्ध वर्गको ध्यान जाओस् ।

– कमलामाई नपा, सिन्धुली