Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट २१ किलो ७५० ग्रामभन्दा बढी अवैध सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेका उनीहरूलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा २७ वर्षीय हान फेई, ४७ वर्षीय झोउ लोङछिन र ३७ वर्षीय वाङ जियानझेन रहेका छन्।
विशेष सूचनाका आधारमा निगरानी बढाएको प्रहरीले माथिल्लो भंगालस्थित एक घरबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले घर भाडामा लिएर अवैध रूपमा सुनको कारोबार, प्रशोधन तथा ओसारपसार गर्दै आएका थिए। प्रहरीले उक्त कारबाहीलाई ‘अपरेसन ब्राभो गल्फ’ नाम दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।
प्रहरीले उनीहरू बस्दै आएको घरबाट सुनका टुक्रा तथा बिस्कुट आकारका ढिक्का, नगद, सुन ओसारपसारमा प्रयोग गरिएको गाडी, सुन पगाल्ने तथा प्रशोधन गर्ने मेसिन र विभिन्न उपकरण बरामद गरेको छ। घटनासँग सम्बन्धित कागजातसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबाट गरिएको परीक्षण तथा प्रमाणीकरणअनुसार बरामद सुनमध्ये १० किलो १९७.९३ ग्राम तयारी अवस्थामा र १० किलो ४५२.७५ ग्राम अर्धतयारी अवस्थामा रहेको छ।
प्रहरीका अनुसार बरामद सुनको कुल तौल २१ किलो ७५०.६८ ग्राम रहेको छ। यसको हालको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा बराबर रहेको प्रहरीले जनाएको छ।
सुन प्रशोधन तथा ओसारपसारमा प्रयोग भएका सामग्री र कागजात बरामद भएपछि प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका तीनै जना चिनियाँ नागरिकमाथि बरामद सुनको स्रोत, कारोबारको प्रकृति तथा सम्भावित अन्य संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२०८३ आश्विन २३
ताजा नेपाल
२०८३ आश्विन २३
ताजा नेपाल
२०८३ आश्विन २३
ताजा नेपाल