Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बेलायतबाट फर्केका तीनजनालाई नयाँ कोरोनाको आशंकामा नमूना हङकङ पठाइँदै

काठमाडौँ । पहिलो चरणको कोरोनाविरुद्ध भ्याक्सिन तयार गर्दै गर्दा दोस्रो चरणको कोरोनाले आतंक सिर्जना गरेको छ । बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट (बी–११७) कोरोना भाइरस भएको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा उनीहरूको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो ।

कोरोना पोजिटिभ देखिएका उनीहरूबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी–११७ हुन सक्ने सम्भावना बढेको हो । यसको पुष्टि गर्न सरकारले हङकङ विश्वविद्यालयको प्रयोगशालामा नमुना पुर्‍याइसक्ने योजना बनाएको छ । बी–११७ को पीसीआर परीक्षण गर्दा विभिन्न जिनहरूमध्ये एसजिन देखिँदैन ।

इम्पेरिअल कलेज लन्डनमा संक्रामक रोग प्रमुख उइन्डी बार्क्लेका अनुसार कोराना संक्रमण रहे नरहेको पत्ता लगाउन पीसीआर परीक्षण गरेर कम्तीमा तीनवटा जिन हेर्दा एसजिन नदेखिएपछि त्यसको कारण पत्ता लगाउने क्रममा बी–११७ भेरिएन्ट पत्ता लागेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पोजिटिभ देखिएकाहरूको जुन ल्याबमा पीसीआर परीक्षण गरिएको हो, त्यहाँबाट स्वाब संकलन गरी एनपीएचएलमा पठाएको थियो । त्यही स्वाब डब्लूएचओको मान्यता प्राप्त हङकङ विश्वविद्यालयको प्रयोगशालामा परीक्षण गर्न लागिएको हो ।