Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । डेंगु संक्रमण भयाबह बन्दै गएको छ । डेंगुकै कारण एक युवतीको मृत्यु भएको छ । टेकु अस्पतालमा आईसीयूमा उपचारत २४ वर्षीया युवतीको मृत्यु भएको हो । डेंगु संक्रमित उनी मंगलबार बेलुका अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा विमल चालिसेका अनुसार अस्पताल आउँदा नै उनको अवस्था जटिल थियो । आईसीयूमा राखेर उपचार गरियो, तर भोलिपल्ट बुधबार बिहान उनको मृत्यु भयो, डा चालिसेले बताएका छन् । यस वर्ष डेंगुबाट मृत्यु भएको यो पहिलो केश हो । यस वर्ष हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार बागमती प्रदेशमा २९८, कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवन आएका एक विदेशी नागरिकमा भेटिएको थियो । त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । २०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । त्यसयता हरेक वर्ष ठूलो संख्यामा संक्रमित देखिन थालेको छ । अब यो रोग स्थानीय रूपमा फैलिने भएकाले वर्षभरि जोखिम रहिरहेको छ । सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो । सन् २०२३ मा कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । सन् २०२४ मा १५ जनाको मृत्यु र ४१,८६५ जना संक्रमित भएका थिए । विश्व परिवेश र शहरीकरण कारण डेंगुलाई पूर्णत घटाउन गाह्रो हुने विज्ञ बताउँछन् । शहरी क्षेत्रमा डेंगु फैलिनुको प्रमुख कारण अव्यवस्थित फोहोर व्यवस्थापन हो । डेंगु नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय ‘खोज तथा नष्ट अभियान’ नै हो । तर त्यसका लागि नागरिक स्वयं नै जिम्मेवार हुनुपर्छ । विज्ञका अनुसार डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको स्थानमा अन्डा पार्ने गर्छ । विशेषगरी वर्षाको पानी जम्ने ठाउँ, जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रा टायर, अलकत्रा वा खाली ड्रम, गमला, पानी ट्यांकी आदिमा यसले अण्डा पार्छ । डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउने गर्छ । ज्वरो घटेका बेला २४ देखि ४८ घण्टासम्मको समय जटिल क्रिटिकल मानिन्छ । यस्तो बेलामा कतिपय व्यक्तिको शरीरबाट रक्तस्राव हुने र केहीमा रक्तचाप घट्ने सम्भावना उच्च हुन्छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल