Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतले चामल बिक्रीमा अंकुश लगाउँदा १५ वर्षयताकै उच्च वृद्धि

विराटनगर। विश्‍वको दोस्रो ठूलो उत्पादक तथा पहिलो निर्यातकर्ता देश भारतले निकासीमा अंकुश लगाउँदा चामलको मूल्य विश्‍वबजारमा अकासिन पुगेको छ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओका अनुसार गैर बासमती चामल निकासीमा भारतले प्रतिबन्ध लगाएपछि मूल्यमा १५ वर्षयताकै उच्च वृद्धि भएको हो। संसारभरि आपूर्ति र कारोबार हुने चामलमा भारतीय उत्पादनले ४० प्रतिशत हिस्सा ओगट्दै आएको छ।

भारतले सन् २०२२ र २३ मा ५ करोड ४० लाख टन चामल निकासी गरेको अनुमान छ। सस्तो भएकाले भारतमा उत्पादित चामल अफ्रिकी मुलुकमा धेरै निकासी हुने गर्छ।

भारतबाट पश्‍चिमी अफ्रिकी मुलुक बेनिनमा सबैभन्दा बढी चामल निकासी भएको छ। यो मुलुकमा ११ लाख ७४ हजार टन चामल निकासी भएको हो।

भारतबाट चामल धेरै निकासी हुने शीर्ष १० देशको सूचीमा नेपाल सातौं नम्बरमा छ। भारतबाट गत वर्ष नेपालले ४ लाख ६९ हजार टन चामल आयात गरेको थियो।

भारतबाट धेरै चामल आयात गर्ने मुलुक भएकै कारण निकासीमा रोक लगाउँदाको असर नेपालमा परिसकेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश कार्यकारी सदस्य एवं स्वस्तिक राइस मिल्सका सञ्‍चालक श्रवण अग्रवालका अनुसार गत वर्ष माघको पहिलो हप्तामा कान्छी मन्सुली धानको मूल्य प्रति किलो २७ रुपैयाँ थियो। अहिले ३८ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै कान्छी मन्सुली चामलको कारखाना मूल्य प्रति किलो ५२ बाट ६२ रुपैयाँ पुगेको छ।

नेपालमा चल्तीमा रहेको सोना मन्सुली धानको पनि मूल्य वृद्धि भएको छ। गत वर्ष यही समयमा सोना मन्सुली धान किलोको २८ रुपैयाँ रहेकोमा अहिले ४० रुपैयाँमा कारोबार भइरहेको उद्योगी अग्रवालले बताए। सोना मन्सुली चामलको कारखाना मूल्य गत वर्ष माघमा प्रति किलो ५० रुपैयाँ रहेकामा अहिले ६५ रुपैयाँ बिक्री भइरहेको छ।

नेपालमा सबैभन्दा बढी चल्ती हुने जिरा मसिनो चामल र यसको धानको मूल्य उसैगरी अकासिएको छ। गत वर्ष यही बेला जिरा मसिनो धानको मूल्य किलोको ४० रुपैयाँ रहेकामा अहिले ५० रुपैयाँमा खरिदविक्री भइरहेको छ। त्यस्तै, गत वर्ष एक नम्बर ग्रेडको जिरा मसिनो चामलको कारखाना मूल्य किलोको ७० देखि ७२ रुपैयाँ रहेकामा अहिले ८४ रुपैयाँ पुगेको छ।

भारतले अरुवा र हाफ स्टिम चामल निर्यातमा रोक लगाएको छ भने फुल स्टिम र भुजा राइसमा २० प्रतिशत निर्यात शुल्क तोकेको छ। भारतले चामल निर्यातमा नियन्त्रणको नीति अपनाएपछि विश्‍वभरिकै खाद्यआपूर्तिको शृंखलामा असर परेको छ।

नेपाल चामल तेल दाल उत्पादक संघका अध्यक्ष कुमुद दुगड विश्वमा खपत हुने चामलको ४० प्रतिशत हिस्सा भारतबाट आपूर्ति हुने भएकाले उसले निकासीमा रोक लगाउनासाथ मूल्यमा असर गर्ने बताउँछन्।

उनका अनुसार यस वर्ष भारतमै धानको उत्पादन घट्ने प्रक्षेपणपछि त्यहाँको सरकारले बासमती बाहेकका अन्य सबै चामलको निर्यातमा अंकुश लगाएको छ। भारतीय भन्सारले बासमती चामलको निर्यातमा मात्र शुल्क लिँदैन।

भारतले अरुवा र हाफ स्टिम चामल निर्यातमा रोक लगाएको छ भने फुल स्टिम र भुजा राइसमा २० प्रतिशत निर्यात शुल्क तोकेको छ। भारतले चामल निर्यातमा नियन्त्रणको नीति अपनाएपछि विश्‍वभरिकै खाद्यआपूर्तिको शृंखलामा असर परेको छ।

‘भारतमा जिरा मसिनो धानको मूल्य यतिबेला किलोको ४० रुपैयाँ छ, दुगडले भने, निर्यात शुल्क ८ रुपैयाँ तिर्नुपर्छ। एक किलो चामलबाट आधा किलो मात्र चामल निस्कन्छ। यसरी एक किलो चामल उत्पादन गर्दा लाग्ने २ किलो धानको १६ रुपैयाँ त भारतीय भन्सारमै बुझाइएको हुन्छ। नेपालको भन्सारमा पनि कृषि सुधार शुल्क ५ प्रतिशत छुट्टै छ। भारतमा २० र नेपालमा ५ प्रतिशतको असर २५ नभई २६ प्रतिशत हुन आउँछ। नेपालमा जिरा मसिनो चामलको मूल्य वृद्धि भएको यही कारण हो।

उनको बुझाइमा भारत सरकारले आमचुनावका बेला चामलको मूल्यवृद्धि नहोस् भन्ने उद्देश्यले निर्यातमा अंकुश लगाएको हो।

दुगडले भने, हामी महँगो राजस्व तिरेर आयातित धानबाट चामलको उत्पादन गरिरहेका छौँ। अर्कातिर खुला सिमानाको फाइदा उठाउँदै धान र चामल दुवैको अनधिकृत आयात पनि प्रशस्त मात्रामा भइरहेको छ। यसरी आएको चामल र धानले हाम्रो व्यवसायलाई ठूलो अप्ठ्यारोमा पारेको छ।

अर्का उद्योगपति राजु राठीले विश्‍वबजारमा गहुँको आपूर्तिमा भएको क्षयीकरणले चामलको माग र मूल्य दुवै बढेको बताए। उनका अनुसार, रुस–युक्रेन युद्धले गर्दा गहुँ उत्पादनमा ह्रास आउँदा चामलको माग र खपत बढेको हो।

‘चामलको मूल्य वृद्धि हुनुकव् विविध कारणमध्ये गहुँ पनि एउटा हो’, राठीले भने, ‘गहुँ उत्पादन र आपूर्तिमा रुस र युक्रेन दुवै मुख्य खेलाडी हुन्। तर युद्धसँगै उत्पादन र आपूर्तिमा कमी आएको छ। यसले विश्वमै चामलको माग बढिरहेको छ। माग बढेपछि मूल्य वृद्धि हुनु स्वाभाविक हो।’