Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोटेकोशी बाढीबारे सुरक्षा प्रमुखसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित संकटबारे देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल सुरु गरेका छन्।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जारी खोज तथा उद्धार, राहत वितरण, उपचार तथा प्रभावित क्षेत्रमा भइरहेको समग्र व्यवस्थापनबारे विस्तृत जानकारी लिन प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखसँग छुट्टाछुट्टै छलफल सुरु गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री शाहले सोमबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गर्दै हालसम्म सेनाले सञ्चालन गरेका खोज, उद्धार, राहत तथा व्यवस्थापनका कामबारे ब्रिफिङ लिएका छन्।

प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यबारे जानकारी लिनेछन्।

त्यसपछि उनले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि छलफल गर्ने कार्यक्रम छ। तीनवटै सुरक्षा निकायबाट प्राप्त विवरणका आधारमा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिने प्रधानमन्त्रीको तयारी छ।

भोटेकोशी बाढीका कारण रसुवासहित प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली खोज तथा उद्धार तथा राहत व्यवस्थापनमा परिचालित छन्।

प्रधानमन्त्रीले सुरक्षा निकायबाट प्राप्त पछिल्लो अवस्थाको जानकारीलाई एकीकृत गर्दै बेपत्ताको खोजी, उद्धार, राहत वितरण र प्रभावित नागरिकको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णय लिने बताइएको छ।