Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोटेकोशी बाढीमा बेपत्ता १७ जनाको शव भारतमा फेला

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकामध्ये १७ जनाको शव भारतको उत्तर प्रदेशस्थित गण्डक नदी क्षेत्रमा फेला परेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार फेला परेका शवमध्ये १३ वटा कुशीनगर जिल्लाको खड्डा र तमकुहीराज तहसील क्षेत्रमा भेटिएका हुन्। त्यस्तै, थप चार वटा शव महाराजगन्ज जिल्लाको निचलौल तहसील क्षेत्रबाट बरामद गरिएको छ।

महाराजगन्जमा भेटिएका चारवटै शव सोमबार नेपाली प्रशासनलाई जिम्मा लगाइएको समाचारमा उल्लेख छ।

पहिचान खुल्न नसकेपछि शवहरूलाई भारतीय प्रशासनले नियमानुसार ७२ घण्टासम्म मोर्चरीमा राखेको थियो। त्यस अवधिमा पोस्टमार्टम प्रक्रिया पूरा गर्नुका साथै भविष्यमा पहिचान गर्न सहज होस् भनेर शवबाट डीएनए नमुनासमेत संकलन गरिएको जनाइएको छ।

भोटेकोशी नदीमा आएको बाढीपछि नेपालतर्फ बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा पहिचानका क्रममा भारतीय क्षेत्रमा शव भेटिन थालेपछि नेपाल र भारतका सम्बन्धित निकायबीच समन्वय भइरहेको छ। फेला परेका शवको पहिचान र आफन्तसम्म पुर्‍याउने प्रक्रिया थप अघि बढाइने भएको छ।