Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोटेकोशीका थुनिएका सुरुङमा तत्काल उद्धार सम्भव छैन : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण लेदोले पुरिएर थुनिएका जलविद्युत् आयोजनाका सुरुङमा तत्काल उद्धार कार्य अघि बढाउन सम्भव नरहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले बाढीसँगै सुरुङभित्र ठूलो मात्रामा लेदो र हिलो पसेर अवस्था जोखिमपूर्ण बनेकाले तत्काल उद्धार गर्नुभन्दा अनुकूल वातावरण पर्खनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री शाहका अनुसार भोटेकोशी र त्रिशूली क्षेत्रमा थुनिएका जलविद्युत् आयोजनाका सुरुङ पहिरोका कारण मात्रै अवरुद्ध भएका होइनन्, बाढीसँगै आएको ठूलो मात्राको लेदो सुरुङभित्र पसेर भरिएका कारण उद्धार कठिन भएको हो। यस्तो प्रकृतिको घटना विश्वमै असामान्य भएकाले नेपालसँग त्यस्ता सुरुङभित्र तत्काल प्रवेश गरी उद्धार गर्न सक्ने आवश्यक प्रविधि नरहेको उनले बताए।

‘हामीसँग ती बाढी पसेर थुनिएका सुरुङबाट तत्कालै उद्धार गर्न सक्ने प्रविधि छैन,’ प्रधानमन्त्री शाहले भने, ‘जतिबेला मौसमले साथ दिन्छ र सुरुङमा पसेको हिलो सुक्ने अवस्था बन्छ, त्यहाँ पस्न र अडिन सक्ने अवस्था हुन्छ, त्यसबेला मात्रै उद्धार सम्भव हुन्छ।’

उनले विगतमा विश्वका विभिन्न मुलुकमा भएका सुरुङ तथा पहिरो उद्धारका घटनासँग अहिले भोटेकोशी र त्रिशूली क्षेत्रमा देखिएको अवस्थालाई तुलना गर्न नमिल्ने बताए। अन्य देशमा भएका अधिकांश उद्धार पहिरोमा परेका व्यक्तिको खोज तथा उद्धारसँग सम्बन्धित भए पनि अहिलेको अवस्था बाढीसँगै सुरुङभित्र ठूलो मात्रामा लेदो पसेर जोखिमपूर्ण बनेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले सुरुङको मुखसम्म ठूलो संख्यामा डोजर तथा अन्य भारी उपकरण पुर्‍याएर परिचालन गर्नसमेत भौगोलिक अवस्थाका कारण सम्भव नरहेको बताए। ‘बाढीले थुनिएका ती सुरुङको मुखमा ८–१० वटा डोजर उतार्ने अवस्था छैन। त्यहाँको भूगोलले पनि त्यो सम्भव छैन,’ उनले भने।

उद्धारका लागि नेपालसँगै चीन र भारतका विज्ञ तथा प्राविधिकलाई समेत परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिए। बाहिरबाट घटनास्थल हेर्दा उद्धार कार्य किन अघि बढेन भन्ने प्रश्न उठ्न सक्ने भए पनि सुरुङभित्रको वास्तविक अवस्था अत्यन्त जोखिमपूर्ण रहेको उनले स्पष्ट पारे।

उनले उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षा निकायमाथि विश्वास गर्न आग्रह गर्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका आलोचनाका कारण सरकार विचलित नभएको बताए। उद्धारमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक सहयोग र प्रोत्साहन गर्नसमेत उनले आग्रह गरे।

‘हामीले गर्ने काम गरिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भने, ‘सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनालाई यो भएन, त्यो भएन नभन्नुहोस्, उनीहरूलाई प्रोत्साहन गर्नुहोस्।’


सम्बन्धित समाचार

विपद्मा पनि देखियो पूर्वाग्रह

२०८३ भाद्र १८

ताजा नेपाल

आफ्ना बनेका नयाँ जोगी खोज्दै रास्वपा

२०८३ भाद्र १८

ताजा नेपाल

अदालती फैसलापछि हुन्छ जात्रा

२०८३ भाद्र १८

ताजा नेपाल