Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलि मध्यरातबाट चुनाव प्रचार प्रसार बन्द

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । दल तथा उम्मेदवारले चुनाव प्रचार कात्तिक १७ मा सुरु गरेका थिए । निर्वाचन आयोगले बिहीबार मध्यरातपछिको अवधिलाई विशेष समयका रूपमा व्याख्या गरेको छ । निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ । निर्वाचन सुरक्षाका लागि भन्दै निर्वाचन हुनु ७२ घण्टाअघि अर्थात् बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिने भएको छ । बन्द नाका मतदान सकिएपछि मात्रै खुला गर्ने अभ्यास छ । मुलुकको सुरक्षा अवस्था र निर्वाचन सुरक्षा तयारीबारे सुरक्षा निकायले निर्वाचन आयोगका पदाधिकारीलाई जानकारी गराइसकेका छन् । निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिदेखि मदिरा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय आयोगले बुधबार गर्दै छ । प्रतिनिधिसभाका १ सय ६५ सिटमा २ हजार ४ सय १२ र सातै प्रदेशका ३ सय ३० सिटका लागि ३ हजार २ सय २३ उम्मेदवार छन् । १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकेको छ । सम्बन्धित कर्मचारीलाई बिहीबारसम्म मतदान केन्द्रमा पुगिसक्न आयोगले निर्देशन दिएको छ । आयोगका अनुसार निर्वाचनमा २ लाख ४७ हजार कर्मचारी खटिनेछन् ।