Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मंसिर ४ को निर्वाचन शरदचन्द्र शाह गुट र दामोदर शमसेर राणा गुटबीच भिडन्त

  • अर्जुन ज्ञवाली

आगामी मंसिर ४ गते हुने संघीय संसद र प्रदेशसभा निर्वाचन पञ्चायतकालका दुई शक्तिशाली राजनीतिक केन्द्रसँग आवद्ध शरदचन्द्र शाह गुट र दामोदरसमशेर गुटबीच भिडन्त हुँदैछ । फरक के हो भने त्यतिबेला निर्दलीय पञ्चायती व्यवस्था थियो अहिले निरंकुश संघीय लोकतान्त्रिक गणतन्त्र छ । केपी ओली, कमल थापा, कोमल ओलीहरू त्यो समयदेखिनै शरदचन्द्र शाह केन्द्रमा आवद्ध थिए । यसकारण त्यही शक्ति केन्द्रले राजनीतिक धु्रविकरणको क्रममा पार्टीका नाम, झण्डा र घोषणापत्र जनता झुक्याउनका निम्ति जे जस्ता राखिए पनि अस्तित्व रक्षाको अन्तिम चरणमा शरदचन्द्र शाह केन्द्रका अनुचरहरू केपी ओलीलाई केन्द्र मानेर राजनीतिक मैदानमा उत्रिएका छन् ।
यसैगरी, दामोदरसमशेर राणा केन्द्रसँग जोडिएका माधवकुमार नेपाल, आरजु राणा देउवाको केन्द्रमा माधव नेपालदेखि प्रचण्ड, बाबुरामहरू पुगेका छन् । धेरैले काँग्रेससहितको माओवादी गठबन्धन र एमालेसहितको राप्रपा–उपेन्द्र गठबन्धनलाई अस्वाभाविक माने पनि पञ्चायतकालदेखिको राजनीतिलाई भित्रबाट नियालीरहेकाहरूका लागि यो नौलो कुरा होइन । यो निर्वाचन पार्टीगत निर्वाचन भनिए पनि सारमा निर्दलीय निर्वाचन हो । किनभने यहाँ दल, झण्डा र घोषणापत्र फरक देखिए पनि काँग्रेस र माओवादीमा अब भिन्नता रहेन । विगतमा कथित ४० सूत्रीय एजेन्डा होस्, या कथित माओवादी हिंसा ती फगत शक्ति केन्द्रको टकरावमा देखाउने दाँत मात्रै थिए । अहिले अस्तित्व रक्षाको अन्तिम चरणमा दामोदर समशेर राणाको केन्द्रका उग्र वामपन्थी र अति दक्षिणपन्थी काँग्रेसहरू एक ठाउँमा उभिएका छन् ।
हुन त पञ्चायतकालदेखिनै तत्कालिन नेकपा मालेलाई एकथरिले विशेष गरेर उग्रवामपन्थी र एमाले जस्ता मध्यपन्थीहरू जो एउटा दामोदर समशेर राणा केन्द्रबाट परिचालित थिए भने अर्को शरदचन्द्र शाह केन्द्रबाट । यी दुवै केन्द्रका अनुचरहरू नेपाल कम्युनिष्ट पार्टीका संस्थापक डा. केशरजंग रायमाझीलाई गद्दारको उपमा दिने गर्दथे । यसको कारण के थियो भने चीन र रुससँग समानान्तर र घनिष्ट सम्बन्ध राखेका डा. रायमाझी शरदचन्द्र शाह र दामोदरसमशेर राणा केन्द्रका विरोधी थिए । यसकारण उग्रवामपन्थी र मध्यपन्थीहरूले जीवनभरि केशरजंग रायमाझीलाई प्रहार गरिरहे । रायमाझीमाथिको प्रहार व्यक्तिगत थिएन, वैचारिक थियो । एक पटक तुलसीलाल अमात्यलाई सार्वजनिक समारोहमै भनेका थिए, संसारभरि अमेरिकी गुप्तचर संस्था सिआइएले तीन सय भन्दा बढी कम्युनिष्ट पार्टी खोलेको छ । ठिक नेपालमा पनि नेकपा एमाले, नेकपा मसाल, नेकपा माओवादी, नेकपा एकताकेन्द्र त्यसरी नै खोलिएको थियो । यता, काँग्रेसभित्र टंकप्रसाद आचार्यदेखि सूर्यप्रसाद उपाध्यायसम्मलाई समाप्त गरेर काँग्रेसको नेतृत्व पश्चिमाहरूले नै नियन्त्रण गरेका थिए । सितयुद्धकालिन भूराजनीतिक परिस्थितिमा निर्माण भएको नेपालको राजनीतिक शक्तिकेन्द्र र त्यसको विस्तारित रूप नै मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा दुई गठबन्धन आरजु राणा देउवा सी क्लास राणाले नेतृत्व गरेको दामोदर समशेर केन्द्र र केपी ओलीले नेतृत्व गरेको शरदचन्द्र शाह केन्द्रबीचको गठबन्धन नै वर्तमान निर्वाचन हो । अपवादको रूपमा शरदचन्द्र शाह केन्द्रसँग विमती राख्ने पञ्चायतकालिन राजनीतिक सूर्यबहादुर थापाका पुत्र सुनिल थापा यो निर्वाचनमा नेपाली काँग्रेसको ब्यानरमा दामोदरशमसेर राणा केन्द्रमा पुगेका छन् । यसकारण यो निर्वाचन कुनै दलको एजेन्डा, घोषणापत्र, विचार र सिद्धान्तका आधारमा होइन, शक्ति केन्द्रबीचको टकरावको आधारमा भइरहेको छ ।
तथापि तरुण दल, नेविसंघ, अखिल, अखिल क्रान्तिकारी, प्ररायुसंघ, युवासंघ, वाइसिएल जस्ता पार्टीका भातृ संगठनका रूपमा खोलिएका संगठनहरू बेरोजगार युवा र आवाराहरूको जमात हो । यस्तो पंक्ति अहिले नै सत्य कुरा पचाउन सक्ने अवस्थामा छैन । मैदानमा देखिने भिडन्त यी दुवै पक्षका आवाराहरूबीचको भिडन्त मात्रै हो । यसमा न सिद्धान्त, न विचार न त नैतिकता नै छ । यसकारण यस निर्वाचनबाट आउने परिणामले नेपाली राजनीतिको भावी दिशा तय गर्न सक्दैन । विडम्बना के हो भने अहिले हामीसँग तत्कालिन अवस्थामा विकल्प पनि छैन । किनभने दलहरूको विकल्प सेना हो, तर नेपालको सेना २०५८ साल जेठ १९ गते वीरेन्द्रको वंश विनाश हुँदा दरबारको सुरक्षा हाम्रो होइन भन्ने सेना हो । अर्कोतर्फ शान्ति सेनाको रूपमा राष्ट्रसंघ र मानार्थ सेनाको रूपमा भारतसँग जोडिएकोले यो सेनाबाट राष्ट्रिय हितको पक्षमा कुनै पनि आशा राख्न सकिँदैन । यो अवस्थामा दलभित्र र बाहिरबाट देशभक्त शक्तिहरूले जुनसुकै गठबन्धन सत्तामा आए पनि जनतालाई सचेत बनाएर अभियान चलाउनु बाहेक तत्काललाई अर्को विकल्प देखिँदैन । सबैलाई चेतना भया ।


सम्बन्धित समाचार