Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण
२७ जेठ, काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने खतरा बढेको छ ।
इरानको सरकारी सञ्चारमाध्यमले होर्मुज जलडमरूमध्य स्ट्रेट अफ होर्मुज स्थित केशम टापुमा विस्फोटको आवाज सुनिएको जनाएको छ । यो विश्वकै महत्वपूर्ण समुद्री व्यापार मार्गमध्ये एक हो, जसलाई युद्धका क्रममा इरानले बन्द गरेको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार आक्रमण राजधानी तेहरान वा अन्य प्रमुख सहरमा नभई केशम टापुमा केन्द्रित थियो। हालसम्म मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानले अमेरिकी सेनाको हेलिकोप्टर जलडमरूमध्य माथि गस्ती गरिरहेका बेला खसालेको दाबी गरेका थिए । उनले यस घटनाको जवाफ दिनु अनिवार्य भएको बताएका थिए ।
इरानीहरूले हाम्रो अत्याधुनिक अपाचे हेलिकोप्टरमध्ये एउटा खसालेका छन्, ट्रम्पले भनेका थिए । यद्यपि हेलिकोप्टरमा सवार दुवै सैनिक सुरक्षित रहेको र उनीहरूलाई कुनै चोटपटक नलागेको उनले बताए ।
अमेरिकी सेनाका अनुसार सोमबार ओमानको तट नजिक दुर्घटनाग्रस्त भएको अपाचे हेलिकोप्टरका दुई चालक दलका सदस्यलाई मंगलबार बिहानै उद्धार गरिएको थियो ।
अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार २४ फिट लामो मानवविहीन ड्रोन डुंगाले पानीमा करिब दुई घण्टा बिताएका दुवै पाइलटलाई फेला पारी सुरक्षित स्थानमा पुर्याएको थियो । उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।
होर्मुज जलडमरूमध्य नजिक अमेरिकी हेलिकोप्टर खसालेपछि भएको अमेरिकी आक्रमणबारे प्रतिक्रिया दिँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत चेतावनी दिएका छन् ।
उनले लेखेका छन्, यदि सुरक्षित रहन चाहनुहुन्छ भने हाम्रो क्षेत्रबाट बाहिरिनुहोस् । हाम्रो क्षेत्र वरिपरि रहेका विदेशी सेनाहरू सधैं जोखिममा हुन्छन् । हामी कूटनीतिलाई प्राथमिकता दिन्छौं, तर आवश्यक परे अन्य भाषामा पनि जवाफ दिन जान्दछौं ।
हेलिकोप्टर खसालिएको घटना र त्यसपछिको अमेरिकी आक्रमणले पछिल्ला दुई महिनादेखि कायम रहेको युद्धविरामलाई थप तनावपूर्ण बनाएको छ । हालका दिनहरूमा होर्मुज क्षेत्र वरिपरि अमेरिका र इरानबीच भएका झडप तथा लेबनानमा इजरायलका आक्रमणहरूले ८ अप्रिलमा भएको युद्धविरामलाई जोखिममा पारेका छन् ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए । त्यसयता पश्चिम एसिया मात्र नभई विश्व अर्थतन्त्रसमेत प्रभावित भएको छ । दुवै पक्षबीच स्थायी सम्झौतामा सहमति हुन नसक्दा पुन व्यापक युद्ध सुरु हुने आशंका अझै कायम छ ।
२०८३ जेष्ठ २७
ताजा नेपाल
२०८३ जेष्ठ २७
ताजा नेपाल
२०८३ जेष्ठ २७
ताजा नेपाल