Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मध्यमार्गीसँग प्रचण्डले भने, प्रस्ताव फिर्ताको कुरै नगरौं

काठमाडौं । नेकपाभित्रको विवाद फुटकै दिशातर्फ अघि बढेको छ । समाधानको खोजी भन्दा पनि विग्रहको बिउ खोज्ने काम दुवै पक्षबाट भइरहेको छ । नेकपाभित्र विवाद बढ्दै जादा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच संवादहिनता बढेको छ।

गत कात्तिक २५ गते दुई अध्यक्षबीच भेटघाट भएको थियो। त्यसयता दुइटा सचिवालय बैठक बसेका छन्। तर उनीहरूबीच वान टु वान कुराकानी भएको छैन। यसअघि अधिकांश सचिवालय बैठक बस्नु पहिलेसमेत दुई अध्यक्षबीच भेटघाट हुन्थ्यो। कात्तिक २८ को बैठकमा एकतर्फी रूपमा प्रतिवेदन पेश गरेको भन्दै प्रधानमन्त्री ओली र उनी पक्षधर नेताहरू प्रचण्डसँग आक्रोशित छन्। उनीहरूले प्रचण्डले राखेको प्रस्तावलाई आरोप–पत्रको संज्ञा समेत दिएका छन्।

मंसिर ३ को बैठकमा ओलीले दस दिन समय मागेका थिए। अब बैठक १३ गते बस्दैछ। उक्त बैठकमा ओलीले प्रचण्डको आरोपको जवाफ दिने तयारी गरेका छन्। ओलीनिकट स्रोतले उनी पार्टी एकताभन्दा पहिलाको अवस्थामा पुगेको भन्दै त्यसको समीक्षा गर्नुपर्ने पक्षमा पुगेको बताएको छ। ओली र प्रचण्डबीच संवादहिनता भएका बेला समेत ओलीनिकट नेताहरूले प्रचण्डलाई भेट्ने गरेका थिए। यसपटक भने प्रचण्डले ओली पक्षधर नेताहरूलाई एक दिन मात्रै धुम्बाराहीमा भेटेका छन्।

स्रोतअनुसार शुक्रबार महासचिव पौडेलले प्रचण्डसँग प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। पौडेलले प्रस्ताव फिर्ता लिएर साझा प्रस्ताव बनाउन गरेको आग्रह प्रचण्डले अस्वीकार गरेका थिए। मध्यमार्गी भूमिका खेलिरहेका पूर्व माओवादी पक्षधर नेतासँग पनि आफूले प्रस्ताव फिर्ता नलिने प्रचण्डले स्पष्ट पारेका छन्।