Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रालयको टुंगो लगाउन दौडधूप

काठमाडौँ । निकै तामझामका साथ गठन भएको सरकारले दुई महिना पार गरिसक्दा पनि सिंहदरबारमा रहेका मन्त्रालयमा माकुराको जालो लागिसकेको छ । विपक्षी दल विभाजन गर्न ल्याइएको अध्यादेशले गठबन्धनभित्रकै दल विभाजित हुने निश्चितजस्तै भएपछि अध्यादेश खारेज गरेर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । सरकार गठनको साढे दुई महिनापछि मन्त्रिपरिषद् विस्तार हुन लागेकाले सांसदहरूको दौडधुप झन् बढेको छ । गठबन्धनको आइतबारको बैठकमा अध्यादेश खारेज गर्ने सहमति भएको हो । नेकपा एसका नेता मुकुन्द न्यौपानेले अध्यादेश खारेजीले आफ्नो पार्टीलाई अब कुनै असर नपार्ने बताए ।संविधानको धारा ११४ उपधारा २ (ख) मा सरकारको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बखत अध्यादेश खारेज गर्न सक्ने प्रावधान छ । प्रतिस्थापन विधेयकमार्फत अध्यादेश संशोधन गरेर पूर्ववत् बनाउने वा ६० दिन कुरेर स्वतः निष्क्रिय हुन दिने विकल्प पनि सरकारसँग छन् । तर, यी प्रक्रियामा जाँदा मन्त्रिपरिषद् विस्तार अझै ढिलाइ हुने भएकाले सरकारले खारेजीको बाटो अपनाउन लागेको हो ।
अध्यादेश खारेज भए पनि यसका आधारमा भएका विभाजन भने कानुनसम्मत मानिनेछन् । सरकारले साउन ३२ गते प्रतिनिधिसभा बैठक हठात् अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । भदौ २ मा राष्ट्रपतिबाट जारी भएको अध्यादेशका आधारमा एमाले विभाजित भई माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएका छन् । संवैधानिक अड्चन नभए पनि आफैंले ल्याएको अध्यादेश खारेज गर्दा नैतिक र राजनीतिक प्रश्नबाट भने गठबन्धनले उन्मुक्ति पाउने छैन । तर, सरकारले यी सबै विषय बेवास्ता गर्दै अध्यादेश खारेज गर्दै छ । देउवा प्रधानमन्त्री भएकै दिन असार २९ मा कांग्रेसका २ र माओवादी केन्द्रका २ मन्त्रीले शपथ लिएका थिए । साउन १० मा उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री र असोज ६ मा संयुक्त राष्ट्रसंघको महासभामा पठाउन नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरिएको थियो । त्यसबाहेकका १६ मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा छन् ।