Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाकालीका ज्यानमारा तुइन बन्द

दार्चुला । तुइन उन्मुलन गर्ने सरकारले तीन वर्ष पार गरेर गइसकेको छ । अझै राजधानी वरपर नै तुइनमा मान्छे झुण्डिएको देखिन्छ भने दूरदराजको अवस्था के होला ? दार्चुलाको विकट व्यासका बासिन्दालाई आफ्नै भूमि हुँदै सदरमुकाम आउजाउ गर्न समस्या भइरहेका बेला लुकीछिपी तुइनमार्फत महाकाली तरेर भारतीय बाटो प्रयोग गर्ने विकल्प पनि बन्द भएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले तुइन फुस्काइदिँदा व्यासका युवक जयसिंह धामी बेपत्ता भएको घटनापछि भारतले महाकाली नदी पार गर्ने त्यस क्षेत्रका सबै तुइन बन्द गरेको हो । तुइन बन्द गरिएपछि नेपालतिरको घुमाउरो र बाढीपहिरोले क्षतिग्रस्त बाटो प्रयोग गर्नुपरेको छ । सधैं तुइन भएरै सदरमुकाम आउने व्यास–३ सिनाका रमेश कुँवरले यसपालि नेपालकै समस्याग्रस्त बाटोबाट पिठ्युँमा बोकेर सामान लैजानुपरेको बताएका छन् । व्यास–५ तिग्रममा नेपाल–भारत जोड्ने झोलुंगे पुल छ । यो पुलबाट व्यासको ५ र ६ वडाका बासिन्दालाई पायक पर्छ । धौलाकोटको आधा बस्ती, तिग्रम, चन्दाकोट हुतीलगायतका स्थानीय तिग्रम पुल प्रयोग गर्छन् । माथिल्लो व्यासका धेरैजसो बासिन्दा तुइन तरेर सदरमुकाम आउजाउ गर्छन् । व्यास गाउँपालिकाका अन्य स्थानीय बासिन्दा पनि तुइनकै सहायताले महाकाली पार गरी भारतीय क्षेत्र हुँदै जिल्ला सदरमुकाम आवतजावत गर्ने गरेको बताइन्छ । साउन १५ मा व्यास–२ मालघाटस्थित नेपाल–भारत आवतजावत गर्न बनाइएको तुइनमा स्थानीय जयसिंह धामी तर्दातर्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले तुइन फुकालेर धामी बेपत्ता भएपछि महाकालीमा फेरि तुइन राखिएको छैन । स्थानीयले एकछिनको जोखिम मोलेर सदरमुकाम तथा बजार आवतजावतमा सहजताका लागि राखिने तुइन नभएपछि समस्या थपिएको माल गाउँका स्थानीय धरम कार्कीले बताए । व्यासवासीले पश्चिम दिशामा आवागमन गर्न महाकाली नदीमा राखिएका आधा दर्जन तुइन एसएसबीले काटिदिएको छ । अब तिग्रमको झोलुंगे पुलबाट मात्रै आवतजावत गर्न सकिन्छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल