Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीसँग एमालेको तालमेल हुन सक्छ, एससँग कुरै नगरौं

काठमाडौँ । नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रदेश र संघको निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल हुन सक्ने बताएका छन् । एमालेले माओवादीलगायत वामपन्थी र प्रगतिशील शक्तिसँग तालमेल गर्न सक्ने सम्भावना रहेको बताए । तर, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग भने तालमेलको सम्भावना पटक्कै नभएको उनको भनाइ छ । ‘कसैले सोचेको थियो र २ पार्टीबीच एक्कासी एकता हुन्छ भनेर ? भयो त । सहकार्य हुन सक्छ’, सचिव महासेठले भने, ‘अहिले माओवादी एउटा प्रतिक्रियावादी खेमामा पुगे पनि, दक्षिणपन्थी खेमामा पुगे पनि, कम्युनिस्ट आन्दोलनको विरुद्धमा पुगे पनि राजनीतिक रूपमा माओवादीलगायत वामपन्थी र प्रगतिशील पक्षसँग तालमेलको सम्भावना जहिले रहन्छ । तर, माधवकुमार नेपाल पक्षसँग रहँदैन ।’ एमालेको मधेस इन्चार्जसमेत रहेका महासेठले नेपाल नेतृत्वको पार्टीले एक्लै वडा सदस्य पनि कहीँ नजित्ने ठोकुवा गरे । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको समर्थन पाउँदा पनि उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन जित्न मुस्किल पर्ने दाबी गरे ।