Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवितै उद्धार

काठमाडौं । भोटेकोशी बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र दक्षिण कोरियाली विपद् उद्धार विज्ञ टोलीले केहीबेरअघि उनलाई सुरुङबाट बाहिर निकालेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उद्धार गरिएका चिनियाँ नागरिकलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकमा ल्याइँदै छ।

गत भदौ १० गते आएको विनाशकारी बाढीपछि उनी सुरुङभित्र फसेका थिए। बाढी आएको ११औँ दिनमा उनको उद्धार भएको हो।

प्रधानमन्त्रीको कार्यालयका अनुसार उद्धार गरिएका चिनियाँ नागरिकको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।

माथिल्लो त्रिशूली–१ मा बाढीपछि ठूलो क्षति भएको थियो। सुरुङभित्र फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेना, सुरक्षा निकाय र विदेशी प्राविधिक तथा उद्धार टोली परिचालन हुँदै आएका छन्।