Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलको अभिव्यक्तिलाई लिएर व्यापक विरोध सुरु भएको छ। एक विद्यालयका प्रधानाध्यापकले स्वागत गर्न नआएको भन्दै उनले दिएको प्रतिक्रिया विवादमा परेको हो।
ओखलढुंगाबाट निर्वाचित तथा पूर्व एआइजी पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई सार्वजनिक रूपमा हप्काएका थिए। स्वागत गर्न नआएकोमा असन्तुष्टि जनाउँदै उनले भने, “म आउँदैछु भनेपछि तपाईं बाहिर निस्किनु पर्छ। तपाईं कर्मचारी हो, म रिटायर्ड विशिष्ट श्रेणीको कर्मचारी हुँ।” आफूलाई ‘माननीय’ को रूपमा प्रस्तुत गर्दै उनले थपे, “जिल्लाको माननीय आउँदा हेडमास्टर भित्रै बस्ने?”
उनको यो व्यवहारप्रति पार्टीभित्र र बाहिर दुवैतर्फबाट आलोचना भइरहेको छ। पूर्वशिक्षामन्त्री महावीर पुनले यस्तो व्यवहार अस्वीकार्य भएको भन्दै उनलाई पदबाट हटाउनुपर्ने बताएका छन्। नाम नलिइकन उनले भने, “सांसद जनताको सेवक हो। आफ्नो क्षेत्रका जनताले दिएको जिम्मेवारी पूरा गर्नु उसको कर्तव्य हो। स्वागत नगरेको भन्दै सार्वजनिक रूपमा यस्तो धाक देखाउनु उचित होइन। कि तुरुन्त माफी माग्नुपर्छ, कि जनताले फिर्ता बोलाउनुपर्छ।”
रास्वपाभित्रकै नेताहरूले पनि पोखरेलको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। केन्द्रीय सदस्य गणेश कार्कीले सामाजिक सञ्जालमार्फत ‘भुइँ नछोड्न’ सुझाव दिएका छन्। उनले लेखेका छन्, “सांसद पद बढीमा पाँच वर्षको हुन्छ। केही समयअघिसम्म जनतासँग भोट माग्दै हिंडेको कुरा नबिर्सौं। भुइँमै टेकिएर बसौँ।”
यसैबीच, शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले पनि प्रधानाध्यापकको सार्वजनिक अपमानप्रति आपत्ति जनाएका छन्। उनले प्रश्न गरेका छन्, “स्वागतका लागि लाइनमा नउभिएको भन्दै कसैको सार्वजनिक अपमान गर्ने व्यक्ति ‘माननीय’ कहलिन योग्य हुन्छ कि हुँदैन?”
रास्वपाका कार्यकर्ताहरूले पनि सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीमा लामो समयदेखि सक्रिय स्वस्तिका लामिछानेले सांसद पोखरेलको व्यवहारले मतदातालाई निराश बनाएको बताएकी छन्। उनले लेखेकी छन्, “माननीय हुनासाथ अहंकार देखाउनु हुँदैन। जनतासँग कसरी बोल्ने भन्ने सिक्न जरुरी छ। हामीले गरेको मेहनतले नै तपाईं यो स्थानमा पुग्नुभएको हो, त्यसको सम्मान हुनुपर्छ।”
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल