Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मासिक डेढ लाख तबल दिने गरी इजरायलले ५ सय नेपाली कामदार लैजाने

काठमाडौं। विश्वव्यापी रुपमा कोरोना कहरले रोजगारीको अवसर गुमिरहेको बेला इजरायलले फेरि नर्सिङ क्षेत्रमा नेपालीलाई रोजगारीको लागि बाटो खुला गरेको छ। कोभिड –१९ को कहरले विभिन्न देशमा कार्यरत नेपाली रोजगारी गुमाएर स्वदेश फर्किन बाध्य भएको अवस्थामा इजरायलले थोरै भए पनि रोजगारीको अवसर दिन लागेको हो। इजरायल सरकारले केयर गिभर र नर्स गरेर ५ सय जना नेपालीलाई लैजाने प्रस्ताव अघि बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको पहलमा यो प्रस्ताव अघि बढेको हो। निरन्तरको पहलपछि इजराय नेपाली कामदार लैजान सहमत भएको हो। इजरायलको नर्सिङ क्षेत्र (हस्पिटल, नर्सिङ होम, डे केयर सेन्टर) मा नेपालीका लागि रोजगारीको अवसर खुलेको हो। यो प्रक्रिया आगामी वर्षमा पनि निरन्तर चलिरहने बताइएको छ। ‘जी टु जी’ अनुरुप नेपाली कामदार इजरायल जान पाउने छन्। कम्तिमा एसएलसी पास केयर गिभर र नर्सिङ पढाई पुरा गरेका युवाले यो अवसर पाउनेछन्। उमेरको हकमा ४५ बर्ष नकाटेको हुनुपर्नेछ। बढीमा पाँच वर्ष त्यहाँ काम गर्न पाउने प्रावधान राखिनेछ। आतेजाते खर्च, बिमा, स्वास्थ जाँचलगायतको खर्च जाने कामदार स्वयमले ब्यहोर्नु पर्नेछ। ‘सबै कुरा सोचे जस्तो भयो भने आगामी तीन महिना भित्रमा नेपाली युवा इजरायल पुगिसक्नेछन,’ श्रममन्त्री यादवले डिसी नेपालसँग भने, ‘उल्लेखित काममा जाने युवाले महिनाको १ लाखदेखि १ लाख ५० हजर नेपाली रुपैयाँ तलब बापत प्राप्त गर्नेछन्।’ यसअघि नेपालबाट यो क्षेत्रमा काम गर्न थुप्रै नेपाली इजरायल पुगेका थिए। तर, विभिन्न कारणले गर्दा लामो समयदेखि नेपालीहरु नर्सिङ क्षेत्रमा कामको लागि इजरायल जान पाएका थिएनन्। लामो समयदेखि बन्द रहेको यो क्षेत्र श्रममन्त्रालयको विशेष पहलमा पुनः सुचारु भएको हो। नेपालीहरुको इमान्दारिता र कामप्रतिको लगनशीलताबाट प्रभावित भएका इजरायलीहरु पुनः नेपाली कामदार लैजान सकरात्मक भएका हुन्। इजरायल नेपालीको रोजाइमा पर्ने एक आकर्षक गन्तव्य मुलुकमा रुपमा पर्छ।