Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेयरका उम्मेदवारको घरमा पेट्रोल बम प्रहार

काठमाडौ । निर्वाचन बहिष्कार गर्दै आएका विभिन्न समूहले आज बिहानबाट भएको मतदानलाई प्रभावित बनाउने गरि विभिन्न स्थानमा विस्फोट र विस्फोटनको प्रयास गरिएको छ । सोही क्रममा आज बिहान २ बजेको समयमा नयाँ भवनस्थित संसद भवन नजिकै बम विस्फोट भएको छ । संसद भवन नजिकैको बिजुलीको पोलमा दुई जनाले ग्याँस सिलिण्डर पड्काएका हुन् । प्रहरी स्रोतका अनुसार तीनकुने, मीनभवनतर्फबाट दुई जना स्कुटरमा आएर उक्त बम पड्काएका हुन् ।
उनीहरुले सिरकले बेरेर ल्याएको ग्याँस सिलिण्डर बम राखेको केही क्षणपछि विस्फोट भएको हो । बम राखेपछि फरार भएका दुई जनाको खोजी जारी राखिएको बताइएको छ । विस्फोटनबाट नजिकैका तीन वटा घरको सिसा फुटेको बताइएको छ । आजै राति दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा पेट्रोल बम प्रहार भएको छ । तुलसीपुर–५ सल्यान रोडमा रहेको गिरीको घरको पर्खालभित्र दुई वटा पेट्रोल बम प्रहार भएको बताइएको छ । पछि प्रहरीले दुई वटा बोतलभित्र मट्टीतेल हालेर प्रहार गरिएको पत्तो लगाएको छ ।
हेटौंडामा अहिले बिहान शंकास्पद वस्तु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–७ र ८ को सीमाना नजिकै प्रेसर कुकरमा तारले बाँधेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको हेटौंडा प्रहरीले जनाएको छ ।