Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोदीको सुरक्षाका लागि सिंहदरबारमा बैठक

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको औपचारिक पाँचौ भ्रमणको केही दिनअघि बुटवलमा बम विस्फोट भएपछि उनको भ्रमण सुरक्षाका लागि विशेष बैठक बसेको छ। बैठकमा लुम्बिनीमा भिक्षु र दर्शनार्थीका नाममा आउन सक्ने चिनियाँ नागरिकहरु भारतीय प्रधानमन्त्रीको सुरक्षाका लागि खतरा हुनसक्ने बारे छलफल भएको छ। उच्च सुरक्षा स्रोतका अनुसार, बुद्ध जयन्ती भएकाले भिक्षु र दर्शनार्थीलाई लुम्बिनी प्रवेशमा र पूजा आजामा रोक्न नमिल्ने हुँदा भिक्षु र दर्शनार्थीको भेषमा चिनियाँ नागरिकहरु सुरक्षा चुनौतीका रुपमा देखिन सक्नेतर्फ सजग हुनुपर्नेबारे बैठकमा छलफल भएको थियो।
विदेशी भिक्षुहरु धेरैजसो तिब्बती मुल र त्यस्तै अनुहारका हुने हुँदा को माथि नजर राख्ने को माथि नराख्ने भन्ने द्विविधा रहने र यस्तो अवस्थामा गलत मनसाय भएका व्यक्ति त्यहांभित्र घुस्न सक्ने हुँदा विशेष सतर्कता अपनाउने निर्णय पनि सो बैठकले गरेको छ। मुख्यसचिव शंकरदास बैरागीले मुख्यसचिवको कार्यालयमा सबै सुरक्षा अंगका उच्चअधिकृतहरु सामेल गराई बैशाख २९ गते विहान १० बजे सो बैठक बोलाएका थिए। बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंह, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, गुप्तचर विभागका प्रमुख र सबै सुरक्षा निकायका अपरेशन तथा भीभीआईपी सुरक्षा हेर्ने विभागका प्रमुखहरु सहभागी थिए।
शुरुमा विषय बस्तु नखुलाई बोलाइएकोले बैठक के बारेमा हो भन्ने अन्यौल भएको थियो तर मुख्य सचिवको कार्यकक्षमा पुगेपछि मुख्यसचिव बैरागीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा उनको भ्रमण क्षेत्रको सुरक्षाबारे विशेष योजना बनाउनु पर्ने आग्रह गरेका थिए। अनौपचारिकरुपमा निर्वाचनको सुरक्षाबारे सामान्य छलफल भए पनि बैठक मुख्यतया भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सुरक्षामा केन्द्रीत गरिएको थियो। भारतीय सुरक्षाकर्मीका विभिन्न टोलीहरु एक हप्तादेखि नै बुटवल र लुम्बिनी क्षेत्रमा सिभिल ड्रेसमा खटिइसकेको बारे बैठकमा सुचना आदानप्रदान गरिएको थियो।
मुख्यतया मोदीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने र सेनाले बनाएको सुरक्षा योजनाअनुसार नै अरु सुरक्षा संगठनहरुले जिम्मेवारी निर्वाह गर्ने भएका छन् । यसपटक मोदी काठमाडौं नआउने र लुम्बिनीबाटै जेठ २ गते बुद्ध पूर्णिमाको एकदिनको व्यस्त कार्यक्रम सकेर भारत फर्कने कार्यक्रम तय भएको छ । उनलाई स्वगत गर्न प्रधानमन्त्री शेरबहादुर देउवा अघिल्लै दिन अर्थात जेठ १ गते नै लुम्बिनी पुग्ने भएका छन्। नेपालसँग भीभीआईपीका लागि चाहिने विशेष प्रकारको बुलेट प्रुफ गाडी नभएकोले भारत सरकारले मोदीको भ्रमणका लागि चारवटा बुलेट प्रुफ गाडीहरु लुम्बिनी पुर्‍याइसकेको छ। त्यसैगरी भारतीय सुरक्षाकर्मीले प्रयोग गर्ने एयरक्राफ्ट पनि लुम्बिनी क्षेत्रमा उड्ने गरेको देखिएको छ।