Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मौसमका कारण आन्तरिक उडान बन्द

काठमाडौँ । मौसम प्रतिकूल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ । तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले केही आन्तरिक उडान रद्द भएको बताएका छन् । यान्त्रिक पद्धति आईएफआरबाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको छ ।

अघिल्लो एक साता मौसम खराबीले उडान प्रभावित भएको थियो, त्यसपछि केही दिन मौसम सफा भए पनि गत २३ गतेदेखि फेरि उडान प्रभावित भएको हो । काठमाडौं उपत्यकासहित देशभरको आकाशमा बाक्लो तुवाँलो लागेकाले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित बनेको हो । अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार आन्तरिक उडानमा बुधबार विभिन्न एयरलाइन्सका जम्मा ११२ उडानमध्ये ९५ मात्रै उडान भए । १२ उडान रद्द हुनका साथै पाँच उडान मर्ज गरिएको थियो । यी उडानबाट प्रस्थान र आवागमन दुवै गरी नौ हजार ८२४ यात्रुले हवाइयात्रा गरेका छन् । बुद्ध एयरको सात, यती एयरलाइन्सको चार र सीता एयरको एक उडान रद्द भएको छ । यस्तै गत मङ्गलबार आन्तरिकतर्फ ११८ उडान निर्धारण गरिएकामा जम्मा ८८ उडान भए । २८ उडान रद्द भएका छन् । बुद्ध एयरको १५, यती एयरलाइन्सको छ, समिट एयरको तीन, सौर्य एयरलाइन्सको दुई तथा तारा एयरको समान एक–एक उडान भएका छन् । सबै उडानमार्फत आठ हजार ६८७ यात्रु आवतजावत गरेका छन् । अघिल्लो सोमबार सर्वाधिक ३० उडान रद्द भए । उक्त दिन जम्मा १२२ उडान निर्धारण गरिएकामा ९१ मात्रै उडान भएको छ ।

बुद्ध एयरको १७, यती एयरलाइन्सको नौ, ताराएयरको दुई तथा श्री एयरलाइन्स र सीताएयरको समान एक–एक उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । तीनदिन मौसम खराबी रहे पनि तुलनात्मक रूपमा बिहीबार काठमाडौंको आकाश सफा छ । तुवाँलो नभएपछि भिजिविलिटी पनि राम्रो रहेको र नियमित उडान भइरहेको विमानस्थलका महाप्रबन्धक तिवारीले बताए । उनका अनुसार आज पोखरा विमानस्थलबाहेकका गन्तव्यमा उडान नियमित भइरहेको छ । पोखरामा विगत तीन दिनदेखि उडान हुन नसक्दा यात्रु मर्कामा परेका छन् ।


सम्बन्धित समाचार