Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस कारण सिरियाका पूर्वराष्ट्रपति बसर अल–असदलाई सुनाइयाे मृत्युदण्ड

काठमाडौं । सिरियाको एक अदालतले देशका पूर्वराष्ट्रपति बसर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। मंगलबार असदको अनुपस्थितिमा सुनुवाइ गर्दै अदालतले करिब १४ वर्ष लामो गृहयुद्धका क्रममा भएका गम्भीर अपराधमा उनलाई दोषी ठहर गरेको हो।

डिसेम्बर २०२४ मा असद सत्ताच्युत भएपछि गठन भएको अन्तरिम सरकारअन्तर्गत असद शासनकालमा भएका अपराधबारे सुनाइएको यो पहिलो ठूलो फैसला भएको बताइएको छ। अन्तरिम सरकारले विगतका अपराधमा न्याय र जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै आएको छ।

दमास्कसस्थित अदालतका न्यायाधीश फखर अल–दिन अल–आर्यनको इजलासले असदलाई पूर्वनियोजित हत्या, एकभन्दा बढी व्यक्तिको जानाजान हत्या, १५ वर्षमुनिका बालबालिकाको हत्या, यातना, यातनाका कारण मृत्यु तथा गैरकानुनी रूपमा पटक–पटक स्वतन्त्रताबाट वञ्चित गरेको अभियोगमा दोषी ठहर गरेको हो।

अदालतले यी अपराधलाई मानवताविरुद्धको अपराध तथा युद्ध अपराधका रूपमा वर्गीकरण गरेको छ। फैसला सुनाउँदै न्यायाधीश आर्यनले असदलाई मृत्युदण्डको सजाय सुनाएका हुन्।

इस्लामवादी नेतृत्वको विद्रोही समूहले तीव्र आक्रमण गर्दै राजधानी दमास्कसतर्फ अघि बढेपछि असद सिरियाबाट भागेर रुस पुगेका थिए। उनीविरुद्धको मुद्दामा अदालतले उनको अनुपस्थितिमै सुनुवाइ गरेको हो।

अदालतले असदका भाइ माहेर अल–असदसहित पूर्वसत्ताका अन्य ६ सैन्य तथा सुरक्षा अधिकारीलाई पनि अनुपस्थितिमै मृत्युदण्ड सुनाएको छ। माहेर सिरियाली सेनाको शक्तिशाली चौथो डिभिजनका प्रमुख थिए।

दोषी ठहर हुने अन्यमा पूर्वरक्षामन्त्री फहद अल–फ्रेज, सन् २०११ मा दारा प्रान्तको सैन्य गुप्तचर निकायका प्रमुख रहेका लुए अल–अली र पूर्वसुरक्षा अधिकारी आतिफ नजिब रहेका छन्।

अदालतले उनीहरूलाई हत्या, हत्याका लागि उक्साउने, मृत्यु हुने गरी यातना दिने तथा गैरकानुनी रूपमा व्यक्तिको स्वतन्त्रता पटक–पटक खोस्ने अपराधमा दोषी ठहर गरेको छ।

सन् २०११ मा प्रजातन्त्रको माग गर्दै भएको प्रदर्शनमाथि तत्कालीन सरकारले गरेको दमनपछि सिरियामा गृहयुद्ध सुरु भएको थियो। संयुक्त राष्ट्रसंघसहित विभिन्न निकायका अनुमानअनुसार द्वन्द्वका क्रममा पाँच लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन्। हजारौँ मानिस अझै बेपत्ता रहेको बताइन्छ।

सन् २०११ को मार्चमा दारा प्रान्तमा १५ जना विद्यार्थीलाई सरकारविरोधी नारा लेखेको आरोपमा पक्राउ गरी यातना दिइएको घटनापछि जनआक्रोश बढेको थियो। विद्यार्थीहरूको रिहाइको माग गर्दै सुरु भएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गरेपछि आन्दोलन देशका अन्य क्षेत्रमा समेत फैलिएको थियो।

त्यतिबेला दारामा राजनीतिक सुरक्षा प्रमुख रहेका नजिबलाई पछि पदबाट हटाइएको थियो। उनलाई गत वर्ष जनवरीमा पक्राउ गरिएको थियो। नजिबले आफूविरुद्धका अपराध अस्वीकार गर्दै आएका थिए।

बसर अल–असदले आफ्ना पिता हाफेज अल–असदको निधनपछि सन् २००० मा सिरियाको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। करिब २४ वर्ष सत्तामा रहेपछि उनी सन् २०२४ मा सत्ताच्युत भएका थिए।