Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । एक्लै केही गर्न सकिँदैन । साथ सहयोग दिन आउनेरुको स्वार्थ अनेक हुन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक वृत्तमा नामै नसुनिएको उम्मेदवारलाई अघि सारेकाले मतदातामा केही आकर्षण पनि देखियो । किनकि पुराना उम्मेदवारका नकारात्मक पक्ष धेरै उजागर भएकाले नयाँ उम्मेदवारलाई सजिलो पनि भयो । तर, नयाँको आवरणभित्र डा ढाकाकुमार श्रेष्ठ पनि छन्, जसको विगत निक्कै विवादित छ । तर, परिचयको दायरा साँघुरो भएकाले चर्चा भएको थिएन । मंसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा श्रेष्ठको नाम पनि परेपछि पोखरामा सोधीखोजी सुरु भएको थियो । मेडिकल डाक्टरका रूपमा उनको विवादास्पद विगत थाहा पाएकाहरू भने उनको राजनीतिक उपलब्धिले आश्चर्यमा पनि परेका थिए । ०७४ साउन १० । कास्कीका प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन समितिले पोखराको पृथ्वीचोकमा रहेको शुभ बिहानी पोलिक्लिनिकमा छापा मार्यो । किनकि पोलिक्लिनिक अवैध रूपमा सञ्चालनमा रहेको थियो, त्यसैले तत्कालै सिल गरियो । औषधि पसल सञ्चालनको अनुमति लिएर गैरकानुनी रूपमा अस्पताल नै चलाउने अरू कोही होइन, यिनै श्रेष्ठ थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा इमर्जेन्सी वार्ड इन्चार्ज रहेका बेला उनले पोखरा बसपार्कअघि आफूखुसी पोलिक्लिनिक चलाएका थिए । अनुगमन समितिमा रहेका तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रयोगशाला प्राविधिक अधिकृत रवीन्द्र बस्ताकोटीका अनुसार श्रेष्ठले अनुमतिबिना बहिरंग सेवा, प्रयोगशाला, एक्सरे मात्र होइन, १५ शय्याको अस्पताल नै चलाएका थिए । उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाका अनुसार गैरकानुनी पोलिक्लिनिकले असुरक्षित गर्भपतन गरेको समेत भेटिएको थियो । श्रेष्ठ स्वास्थ्यमा मात्र सीमित थिएनन्, उनी सहकारीको विवादमा पनि मुछिए । पोखराको रत्नचोकमा उनले स्थापना गरेको साथी किसान सहकारीका बचतकर्ताको पैसा डुबेको छ । उनले आफू अध्यक्ष हुँदाको हिसाब बुझबुझारथ नगरी बिदा भए, नयाँ नेतृत्वले जिम्मा लिन नमान्दा सहकारी बन्द छ भने बचतकर्ताको बिचल्ली छ । श्रेष्ठको सहकारीमा पैसा जम्मा गरेका बचतकर्ताहरू सहकारी खुल्ने दिनको प्रतीक्षामा छन् । पोखरा महानगरपालिका–१ हरिचोकका दीपक गौतमले विद्युतीय सामग्रीको पसलबाट जोगाएर दैनिक ५ सय रुपैयाँ साथी किसान सहकारीमा जम्मा गर्थे । श्रीमती सुनीताका नाममा जम्मा गरेको रकम ४३ हजार झिक्न सकिने हो कि हो होइन भनेर उनी चिन्तामा छन् । चार महिनादेखि बन्द सहकारीका पदाधिकारीलाई सर्वसाधारणले भेट्नसमेत पाएका छैनन् ।
बचत फिर्ता दिलाइदिन माग गर्दै पीडितहरूले पुस अन्तिम साता पोखरा महानगर गएर उजुरी दिए । महानगरले ३ महिनाभित्र रकम तिर्न सहकारीलाई निर्देशन पनि दिएको थियो । सहकारीले वैशाखसम्म बचतकर्ताको रकम फिर्ता गर्ने बताए पनि कार्यालय अहिलेसम्म बन्द छ । ऋणीसँग पैसा लिएर बचतकर्तालाई दिने भनिए पनि कोसँग कति रुपैयाँ लिनुछ भन्ने हिसाब पनि सहकारीसँग छैन । श्रेष्ठ आफू राजनीतिमा लाग्ने भन्दै गत कात्तिकबाट सहकारीको नेतृत्वबाट बाहिरिएका थिए । कात्तिक ९ मा बसेको साधारणसभामा श्रेष्ठले सनी पाठकलाई सहकारीको नेतृत्व सुम्पिएका थिए । तर, सहकारीको अध्यक्ष हुँदा श्रेष्ठले बचतकर्ताको रकम आफ्नै व्यवसायमा लगेर फसाएको आरोप अरू पदाधिकारीको छ । पोखरा लेकसाइडमा रहेको शुभ बिहानी मिनी मार्केटका लागि सहकारीबाट रकम लगिएको सहकारीका पूर्वव्यवस्थापक विशाल बस्ताकोटी बताउँछन् । अध्यक्ष श्रेष्ठ, त्यसबेलाका सचिव बालाहरि बराल र कोषाध्यक्ष सोमति गुरुङले हस्ताक्षर गरेर संयुक्त रूपमा मुद्दती बचतको पैसा चलाएको आरोप छ । श्रेष्ठले शुभबिहानी सुपरमार्केटको शाखा अहिले पर्वतको कुश्मा, तनहुँको दमौली, पोखराको घलेचोकमा विस्तार गरिसकेका छन् । सहकारीमा १ सय ५ जना सेयर सदस्य छन् । बचत रकम ८२ लाख ७२ हजार रुपैयाँ छ । सहकारीले ९९ लाख रुपैयाँभन्दा बढी उठाउनुपर्ने हिसाब देखिए पनि कोसँग कति उठाउनु छ भन्ने स्पष्ट हिसाब छैन । उपाध्यक्ष चेतबहादुर हमालका अनुसार पनि सहकारीबाट चार महिनायता कुनै कारोबार भएको छैन । स्वतन्त्र पार्टीमा जानुअघि श्रेष्ठ राजनीतिमा सक्रिय थिएनन् । बरु समाजसेवाका नाममा ‘हाम्रो परिवर्तन नेपाल’ नामक संस्था खोलेका थिए, तर त्यहाँ पनि उनले गडबड गरेका थिए । संस्थाले श्रेष्ठको जन्मथलो पोखरा–२४ कास्कीकोटमा खानेपानी बोरिङका लागि ०७४ मा रकम संकलन गरेको थियो । एक सय बढी स्थानीय उपस्थित भएर रकम दिए पनि कति रकम जम्मा भयो भन्ने जानकारी श्रेष्ठले कसैलाई पनि दिएनन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल