Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारलाई सर्मन गरे पनि पहिलो चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने छेकछन्द मिलेन । पार्टीका का सभापति रवि लामिछानेले प्रचण्डसँग चितवन २ को उपचुनावमा आफूलाई सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनु पर्ने सर्त राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन रविले दुई सर्त राखेको खुलेको हो। रास्वपाका एक सांसदले नेपालखबरलाई बताएअनुसार सभापति रवि लामिछानेले गैरसांसदकै हैसियतमा मन्त्री बन्न पाउनुपर्ने र चितवन क्षेत्र नम्बर २ को उपचुनावमा आफुलाई सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनु पर्ने सर्त अघि सारेका छन्। प्रतिनिधिसभामा अहिले रास्वपाका १९ सांसद छन्। रास्वपाले चितवन २, तनहुँ १ र बारा २ को उपनिर्वाचनमा एकल उम्मेदवारी दिने निर्णय गरिसकेको छ। प्रधानमन्त्री प्रचण्ड मन्त्रिमण्डल विस्तारका लागि गठबन्धन दलसँग छलफलमै छन्। मन्त्रिपरिषद विस्तारका लागि तीन दिनदेखि १० दलको बैठक बसिरहेको छ। यहीबेला रास्वपा सभापति लामिछाने पनि सक्रिय छन्। अहिलेसम्म गठबन्धन बैठकमा रास्वपा सहभागी भएको छैन। रास्वपाले उपप्रधान र गृहमन्त्रालयमा दाबी गरेको छ। तर, उक्त मन्त्रालयमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई ल्याउने प्रधानमन्त्रीको तयारी छ। उनी अहिले भौतिक मन्त्रालयमा छन्।
प्रधानमन्त्रीले मंगलबार बसेको सत्ता गठबन्धन बैठकमा रास्वपा सरकारमा सहभागी हुने भन्दै ब्रिफिङ गरेका थिए। रास्वपाका ती सांसदले सभापतिले प्रधानमन्त्री प्रचण्डलाई मंगलबार सिंहदरबारमा भेटेर आफ्नै नेतृत्वमा सरकारमा जाने अडान लिएको खुलाए। रविको प्रस्तावबारे प्रचण्डले १० दलको बैठकमा ब्रिफिङ गरेका थिए। केही नेताहरुले प्रधानमन्त्रीको अधिकार क्षेत्रमा पर्ने विषय भएकोले तपाईंले निर्णय गर्दा हुन्छ भन्ने जवाफ दिए। त्यसपछि प्रधानमन्त्रीले उपनिर्वाचनअघि रविकै नेतृत्वमा सरकारमा नल्याउने तर, अरु नेताहरु जसलाई पठाए पनि हुन्छ भन्ने पक्षमा आफू रहेको बताएको गठबन्धनका एक नेताले जानकारी दिए। रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले अहिलेसम्म मन्त्रालयको टुंगो नलागेको दाबी गरे।
रास्वपाबाट यो गठबन्धनमा मन्त्री बन्न उपसभापति डोलप्रसाद अर्याल, विराजभक्त महर्जन, सोविता गौतम, मनिष झा र सन्तोष परियार चर्चामा छन्। यसअघि एमाले–माओवादीसहित ७ दलीय गठबन्धनमा शिक्षामन्त्री बनेका शिशिर खनाललाई पनि फेरि क्याबिनेटमा पठाउनुपर्ने आवाज पार्टीभित्र उठेको छ। तर, रास्वपाको केन्द्रीय समिति र संसदीय दलमा यसपटक यो विषयले प्रवेश पाउनेछ। नागरिकता प्रकरणले सभापति लामिछानेको सांसद पद गत माघ १३ गते गुमेको थियो। त्यसबेला पनि रविले गैरसांसदका रुपमा फेरि उपप्रधानसहित गृह मन्त्रालय ताकेका थिए। तर उनी राहदानीसम्बन्धी विवादमा पनि जोडिएकाले प्रधानमन्त्री सकारात्मक हुन सकेनन्।
प्रधानमन्त्री प्रचण्ड उनको योजनामा सहमत नभएपछि २२ माघमा रास्वपाले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको थियो। चितवन २ बाट जितेका उनको पद गुमेपछि वैशाख १० गते उपनिर्वाचनको मिति तोकिएको छ। उनी त्यहीँबाट दोहोरिने तयारीमा छन्। उपनिर्वाचनका लागि उम्मेदवार उठाउने विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बिहीबार बस्दैछ। त्यही बैठकले तनहुँ १ र चितवन २ को उम्मेदवारबारे निर्णय लिने नेताहरुले बताएका छन्। नेकपा एमाले र माओवादी केन्द्रसहित ७ दलीय गठबन्धनबाट ११ पुसमा उनी उपप्रधान र गृहमन्त्री बनेका थिए। त्यसबेला माओवादीको भागमा परेको गृह रास्वपालाई दिइएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको योजनाअनुसार गृहमा रविले दाबी गरेको आरोप पनि लागेको थियो। तर, एमालेले सरकार छोड्नुअघि नै रास्वपा बाहिरिएको थियो। सरकार छोडे पनि समर्थन कायमै राखेको रास्वपाले ६ फागुनमा प्रधानमन्त्री प्रचण्डलाई फेरि विश्वासको मत दिएको थियो।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल