Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस फेला परेनन्, सेनाको उद्धार टोली फर्कियो

रसुवा । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजीका क्रममा कोही व्यक्ति फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।

बाढीपछि आयोजनाको सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंका गरिएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो।

उद्धार टोली सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेको थियो। टोलीले सुरुङभित्र मानिस फसेको हुनसक्ने सम्भावित स्थानमा खोजी गर्नुका साथै ड्रोन उडाएर अवस्थाको निरीक्षणसमेत गरेको थियो।

तर, सुरुङको अन्तिम बिन्दुसम्म पुगेर विस्तृत रूपमा खोजी गर्दा पनि कुनै मानवीय उपस्थिति फेला नपरेको नेपाली सेनाले जनाएको छ। सुरुङभित्र कोही व्यक्ति फसेको आशंका हटेपछि खोजी अभियान सम्पन्न गरी सेनाको टोली रसुवाको धुन्चे फर्किएको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीपछि आयोजनामा कार्यरत कर्मचारी तथा अन्य व्यक्तिको अवस्थाबारे विभिन्न आशंका उत्पन्न भएपछि जोखिमयुक्त क्षेत्र, सुरुङ तथा आयोजनाका संरचनामा खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो।

बाढीबाट प्रभावित आयोजनाको अवस्थाबारे थप प्राविधिक मूल्याङ्कन तथा क्षतिको विवरण संकलन गर्ने कामसमेत भइरहेको बताइएको छ।