Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा देखेको कुरा बोल्ने र राजनीतिक सहकार्यमा पद र कुर्सीका लागि हात फैलाउन इमान्दारपूर्वक लाग्ने नेता हुन् । वर्तमान गठबन्धन बन्नु अगाडि रामेश्वर थापाको घरमा अमेरिकी राजदूत र थापाबीच दुई घण्टा भलाकुसारी भएको कुरा त्यतिबेलै प्रचारमा आएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाकाबीच जुन कोठामा प्रचण्ड सरकार ढाल्ने सहमति भयो त्यही कोठामा अमेरिकी राजदूत र रामेश्वर थापाबीच नेपालको वस्तुस्थितिका बारेमा विचार विमर्श भएको चर्चा थियो । अमेरिकी साम्राज्यले नेपालमा वामपन्थीहरूलाई सहयोग गर्दैन भन्ने कुरा कम्युनिष्ट पार्टीका सबै नेताहरूलाई थाहा छ । तर उनीहरू रंगी विरंगी बनेर सत्ता र पदका लागि देशको राष्ट्रिय अस्मितामाथि धावा बोल्ने शक्तिहरूलाई समेत धम्क्याउन सक्दैनन् । त्यस्ता शक्तिहरू मानवअधिकारको नाममा, सामाजिक अभियन्ताको नाममा देखिने गर्दछन् । त्यस्तै चरित्रहरूलाई संविधानको भावनामाथि प्रहार गर्दै राजदूतमा छनोट गर्ने र नेपालको बेइज्जत गर्ने पद्दति यस पटक चर्को रूपमा स्थापित भएको छ । एमाले, काँग्रेस जेसुकै भए पनि देशको सूचना विदेशीलाई बेच्नेहरू देशभक्त हुँदैनन् । तिनीहरूले कम्युनिष्ट पार्टीलाई एकता मात्र होइन, मिलेका मुद्दामा सहकार्य हुन समेत नदिएको अवस्था छ । क्याप्टेन रामेश्वर थापा आज प्रम केपी ओलीलाई सघाउन तत्पर छन् भने भोलि शेबहादुर देउवालाई काँध हाल्न तत्पर छन् । काँग्रेस एमालेको गठबन्धनमा चिरा देखियो भने त्यो चिरामा किला ठोकेर भाँड्ने र नयाँ गठबन्धन बनाउन पनि उनै सक्रिय हुन्छन् । किनकि उनी व्यापारी हुन् व्यापारका लागि नाफा जहाँ हुन्छ त्यहीं लगानी गरिन्छ । काम गरेबापत आफ्नै मिडियामा कार्यरत श्रमजीवी पत्रकारहरूको पसिनाको मूल्य नदेख्ने यी थापाले नेकपा कालमा तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटालाई प्रयोग गरेर काभ्रेको आफ्नै जग्गामा स्थानीय विमानस्थल बनाउने निर्णय पनि गराएकै हुन् । काठमाडौंको हात्ती गौंडामा उनको आलिशान बंगला छ । त्यो बंगलाको आधि जमिन सरकारी हो तर उनी पावरका मान्छे भएकाले कम्पाउन्ड लगाएका छन्, बगैंचा बनाएका छन् । व्यापारी पृष्ठभूमिका रामेश्वर थापा र कैलाश सिरोहियाले माओवादीका नेता जनार्दन शर्मा अर्थमन्त्री हुँदा स्टक एक्सचेञ्जको लाइसेन्स मागेर नपाएपछि विरोधमा आफ्नै सञ्चार साधनहरूको प्रयोग गरेका थिए । उनीहरूको स्वतन्त्र पत्रकारिताको रूप त्यतिबेला देखिएको थियो जतिखेर जनार्दन शर्मा पनि काँग्रेसकी डा. आरजुका सहयोगी थिए । विदेशीले बनाएको गठबन्धन विदेशीले नचाहेको खण्डमा भत्किन्छ । देशको आवश्यकता र जनताको हितका बारेमा चासो नभएको यो गठबन्धनले देशमा भयावह अवस्था आउँदा समेत जनतालाई विश्वास दिलाउन सकेन । जनयुद्धलाई गौरव ठान्ने माओवादी होस् वा झापामा धर्मप्रसाद दाहालको हत्या गर्ने एमाले किन नहोस् उनीहरूबाट नेपाली जनताले अहिलेको अवस्थामा आशा गर्ने ठाउँ रहेन । कम्युनिष्ट विचार र सिद्धान्तलाई कैलाश सिरोहिया र रामेश्वर थापाहरूको पोल्टामा सुम्पेपछि पार्टीका नीति र विचार जनपक्षीय हुन्छन भनेर आशा गर्न सकिँदैन । ‘बा’ र ‘दाई’ को नाता जोडेर काँग्रेस र एमालेमा पार्टीकै बदनाम गर्ने कु पात्रहरू बढीरहेका छन् । तिनै कुपात्रहरूलाई संवैधानिक निकाय अख्तियार, सर्वोच्च अदालत, राष्ट्रिय मानवअधिकार आयोग जस्ता अंगहरूमा प्रवेश गराउँदा राजनीतिक चेतना र शक्ति धरासायी हुन्छ भन्ने कुरा समेत तिनले चेतेनन् जो रामेश्वरको घरमा बसेर वर्तमान गठबन्धन बनाउँदै थिए । मुख्यसचिव, मन्त्रालयका सचिव, विभिन्न योजनाका प्रमुख, विभागीय प्रमुखहरूले राष्ट्रिय दैनिकका नाममा कैलाश सिरोहिया, रामेश्वर थापा, विनोद ज्ञवालीहरूको दलाली पत्रकारिताबाट थर्कनु पर्ने अवस्था छ । देशको सरकार र त्यो सरकारको नेतृत्व गर्ने राजनीतिक शक्ति कमजोर भएका कारण सञ्चार क्षेत्रको नाममा आफ्नै संस्थामा काम गर्नेहरूलाई समयमा पारिश्रमिक नदिनेहरूले राज्यबाट भरपुर फाइदा लिइरहेका छन् । त्यसैले देशमा केही हुन्न, भए माफियाको हुन्छ भनेर ठूलो जमातले आक्रोश प्रकट गर्ने गर्दछ । ओली सरकारले मधुमास पूरा गर्दा नगर्दै जनता र सडकको आक्रमण सहनु पर्नाको कारण कालो बजार र माफियातन्त्रमाथि राज्य कठोर बन्न नसक्नु हो । मुखले प्रधानमन्त्रीले प्रचण्डलाई किक हानेर सत्ताबाट हटाएको कुरा गर्वका साथ गर्छन् । एउटा राजनीतिज्ञले अर्को राजनीतिज्ञलाई त्यसरी भन्न नैतिक रूपमा सुहाउँछ कि सुहाउँदैन ? कतिपय विषय नेताहरूकै बोली र व्यवहारले बिग्रिएका छन् । हामी जानेका, काँग्रेस–एमाले भ्रष्टाचारी भन्ने रास्वपाका सभापति रवि लामिछाने हुन् वा दाई भाउजुबाट सांसद पदको टिकट नपाउँदा विद्रोह गरेका डा. स्वर्णिम वाग्लेहरूनै किन नहुन् । उनीहरूले आफ्नो विज्ञता कहाँ प्रयोग गरे भन्ने विषय प्रमुख हुन्छ । व्यवहारमा गिरेका कार्यकर्ताहरूलाई पार्टीको केन्द्रीय सदस्य बनाउने अध्यक्षको नेतृत्वले मिशन ०८४ को अभियान एक्लै सफल बनाउने भनेपछि जनतालाई तत्कालिन राहत के दियो ? जबकि यतिखेर मुलुक बाढी पहिरोको चपेटामा परेको छ । तर, सरकार केन्द्रीय राहत कोषमा प्राप्त सहयोग गनेर बसिरहेको छ । अमेरिकी मिशनका महासचिव शंकर पोखरेलले देशमा दुई दलीय सिष्टम हुनुपर्ने रटान लगाएर नेकपा एमालेको जनपक्षीय धरातललाई समेत घटाएको छ । त्यतिमात्रै होइन साना पार्टीहरूलाई थन्क्याउन १० प्रतिशतको थ्रेस होल्ड बनाएर राष्ट्रिय पार्टी बन्ने कानुनी प्रावधान सिर्जना गर्ने तिनै पोखरेलको योजनाले आफ्नै पार्टीमाथि दबाव सिर्जना भएको पत्तो पाउँदैनन् । स्थानीय सरकारहरू हुन् वा प्रदेश सरकारहरू जनताको सेवा भन्दा कर्मचारीको रूपमा त्यहाँका प्रतिनिधिहरू प्रयोग भइरहेको छर्लङ्ग छ । वर्तमान गठबन्धनको उद्देश्य र मर्म पूरा भएको कारण अब व्यापारीहरूको इरादालाई स्थापित गराउने दायित्व प्रधानमन्त्रीको काँधमा आइलागेको छ ।


सम्बन्धित समाचार

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल