Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रिय टिमबाट अलग भएको सन्दीपको घोषणा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्षको जेल सजायँ सुनाएपछि नेपाल क्रिकेट संघ क्यानले आज आफ्नो निर्णय सार्वजनिक गर्दै छ । सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी भइरहेको क्यान स्रोतको दाबी छ । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजायँ हुने निर्णय बुधबार सुनाएको थियो । यो निर्णयपछि सन्दीपले आफ्नो भनाइ क्यानसमक्ष पेश गरिसकेका छन् । उनको भनाइ सार्वजनिक भने भएको छैन । सन्दीपका कानुन व्यवसायीहरुले भने जिल्ला अदालतको निर्णयविरुद्ध पुनरावेदनमा जाने बताउँदै आएका छन् ।
क्यानका एक पदाधिकारीको दाबी अनुसार पुनरावेदनको फैसला नआउन्जेल सन्दीपलाई राष्ट्रिय क्रिकेट टिमबाट अलग गर्ने निर्णय हुने छ । राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उजुरी थियो । त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए । अनुसन्धान प्रक्रिया पूरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत बलात्कारको मुद्दा चलायो, जसमा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गएका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले १३ पुसमा क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । २५ पुसमा भने जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको थियो ।