Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धन ब्युँताउने कोसिस सुरु गरेका छन्। जेनजी आन्दोलनबाट सत्ताच्युत हुनुअघिसम्म कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री थिए। आन्दोलनपछि पहिलो पटक ओलीले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवालाई महाराजगन्जस्थित उनको निवासमै पुगेर भेट गरेका छन्। भेटमा ओलीले आगामी दिनमा राजनीतिक सहकार्य गर्ने र राष्ट्रिय सभाको चुनाव पनि मिलेर लड्ने प्रस्ताव राखेको निकटस्थ नेताहरूले बताएका छन्। ओली दम्पती र देउवा दम्पतीबीच छलफल भएका विषयबारे औपचारिक रूपमा भने केही बताइएको छैन। तथापि, भेटलगत्तै आइतबार कांग्रेसले संसद् पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। एमालेले मंसिर ९ गते नै सर्वोच्चमा यससम्बन्धी रिट दायर गरेको थियो। देउवा–ओली भेटपछि रिट दायर गर्ने समझदारी भएको विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए। वारेसमार्फत रिट दिएको उनको भनाइ छ। विघटित प्रतिनिधि सभामा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पनि देउवा–ओलीबीच रिट दायर गर्ने विषयमा छलफल भएको बताए। जेनजी आन्दोलनका कारण भदौ २४ गते कांग्रेस–एमाले गठबन्धनका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। भदौ २७ गते प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी थिइन्।
देउवासँग भेट्न महाराजगञ्ज पुगेका ओलीको मुख्य ध्यान भने आगामी राष्ट्रिय सभा निर्वाचनमा थियो। फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिन लागेको छ। जसमा एमालेका सबैभन्दा बढी ८ जना छन्। यस्तै, सांसद पद जानेमा तत्कालीन माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, राष्ट्रपतिबाट मनोनीत १, जनता समाजवादी पार्टी नेपालका १ र लोकतान्त्रिक समाजवादी पार्टीका १ जना छन्। यसका लागि सरकारले आगामी माघ ११ गते निर्वाचनको मिति तोकेको छ। जेनजी आन्दोलनपछि तितरबितर बनेको गठबन्धन फेरि सक्रिय पारेर राष्ट्रिय सभामा आफ्ना नेता जिताउने योजनामा ओली छन्। उनका अनुसार देउवाले यसबारे जवाफ दिइसकेका छैनन्। देउवाले यसबारे आफ्नो मनसाय निकटस्थहरूलाई पनि नसुनाएको उनको भनाइ छ।
विघटित प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक घिमिरेले एमालेसँगको गठबन्धन कायम राख्ने कि नराख्ने भन्ने विषय टुंगो नलागेको बताए।एमालेसँगको सल्लाह र सहमति अनुसार नै संसद पुनर्स्थापनामा कांग्रेस गइसकेकोले यो सहकार्य लम्बिन सक्ने उनको भनाइ छ। कांग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिका आइसकेकोले खासै अलमल गर्नुपर्ने कारण नभएको उनले बताए।कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रिय सभामा मिलेर जानुपर्ने बाध्यता भएको बताए। तर, एमालेसँग मिलेर जाने विषयमा कुनै निर्णय नभएको उनले बताए। एमालेका एक पदाधिकारीले भने कांग्रेस सभापति देउवासँग राजनीतिक संवाद मात्र भएको र गठनबन्धनको कुरै नभएको दाबी गरे। निर्वाचन आयोगले भने अनुसार दल अद्यावधिक गराउने काम गरिसकेको र अब पार्टीको महाधिवेशन सकेपछि मात्र यसबारे छलफल अघि बढ्ने उनले जानकारी दिए।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल