Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपाले किन गुमायो यति ठूलो अवसर

काठमाडौं । मुलुकमा परिवर्तनको आभाष दिलाउने नयाँ शक्तिको खोजी नयाँ अनुहारबाट भइरहेको छ । अघिल्लो निर्वाचनको मुखैमा स्थापना भएर राजनीति सिक्दै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ सोच बोकेकाहरुले प्रयोग गरेर ठूलो पार्टी बनाउने सपना देखे पनि त्यो सपना पूरा हुन नसक्दा रास्वपाका लागि आएको एउटा ठूलो अवसर खेर गएको छ । भनिन्छ, परिपक्क नेता वा राजनीतिक दलले आज होइन, भोलि हेर्छ। हरेक कदम भविष्यको लेखाजोखा गरेर चाल्छ। आजको फाइदा मात्र हेर्ने नेता वा दलले भोलिको सुनौलो अवसर गुमाउँछ। यो भनाइ राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा पनि लागू हुन थालेको देखिन्छ। पछिल्ला दिनमा पुराना दलको तुलनामा मतदातामाझ विश्वास कायम राखेको रास्वपाले जेलमा रहेका सभापति रवि लामिछानेको कार्यकारी पदमा रहिरहने इच्छा नकार्न नसक्दा चुनावपछि ठूलो दल बन्ने मौका गुमाउने देखिएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र जेन–जी प्रतिनिधिहरूको पनि साथ पाएका ऊर्जामन्त्री कुलमान घिसिङलाई भित्र्याउँदा सरकार नै बनाउने तहमा ठूलो पार्टी बन्न सकिने विश्लेषण गरेरै रास्वपाले उनीहरूसँग मिलेर जाने प्रस्तावसहित अनेक पटक कुरा गरेको थियो। तर, रवि पद छाड्न तयार नभएपछि कुलमान अलग पार्टी दर्ताको तयारीमा लागेका छन्। यसबाट रास्वपाकै कतिपय नेता असन्तुष्ट छन्। यस्तो कदमले पार्टीलाई दीर्घकालीन रूपमा घाटा हुने उनीहरूको ठहर छ। कुशल व्यवस्थापकीय क्षमता देखाएर नेपालमा लोडसेडिङ हटाएर चर्चा कमाएका घिसिङ लोकप्रिय छन्। कांग्रेस–एमाले सरकारले कार्यकाल सकिनु पाँच महिनाअगाडि मात्र नेपाल विद्युत् प्राधिकारणको कार्यकारी निर्देशकबाट उनलाई हटाएकाले पनि घिसिङ चर्चामा थिए। उनले राजनीति सुरु गर्ने तयारी पनि गरेका थिए। यसका लागि उनले सक्रियता नै देखाइसकेका थिए। उनले खाडी मुलुक पुगेर वैदेशिक रोजगारीमा रहेका नेपालीसँग छलफल गरेका थिए। रास्वपाका कयौँ नेताहरू कुलमानलाई भित्र्याउनुपर्ने पक्षमा छन्। यही कारण रास्वपाका नेताहरू घिसिङसँग निरन्तर संवादमा बसे। मिलेर जान प्रस्ताव राखे। जेन–जीको रोजाइमै मन्त्री भएकाले पनि कुलमान मिलाउन सके त्यसको सिधा प्रभाव चुनावमा पर्ने रास्वपाका नेताहरूको भनाइ छ। त्यसमाथि घिसिङलाई मन्त्री बनाउन समेत प्रधानमन्त्री कार्कीले बल गर्नुपरेको थियो। चुनावमा उम्मेदवार बन्ने सर्त राखेर उनी मन्त्री बन्न तयार भएका थिए। हाल ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री समेत तीन वटा मन्त्रालयको जिम्मेवारी उनले सम्हालिरहेका छन्। त्यसमाथि, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको विश्वास पनि उनीमाथि देखिन्छ। जेन–जी आन्दोलनले पुराना दलप्रतिको जनविश्वास डगमगाई दिएको बेला केही गर्छु भन्दै राजनीतिमा उदाएको रास्वपालाई कुलमान र बालेनको साथले ठूलो शक्ति बनाउन सक्थ्यो। यति मात्र होइन, रास्वपा छोडेकी सुमना श्रेष्ठले कुलमानलाई साथ दिएकी छन्। उनी घिसिङलाई रास्वपा भित्र्याएर सभापति बनाउन चाहन्थिन्। तर, चितवनको सौराहामा कात्तिक २१ र २२ गते बसेको रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठकमा पारित भएको राजनीतिक प्रतिवेदनले कुलमानका लागि ढोका बन्द गरिदिएको छ। यसबाट ठूलो घाटा भने रास्वपालाई नै लाग्ने सोही पार्टीका नेताहरूको भनाइ छ। पुराना तीन दलसँग मिलेर भिड्नुपर्ने उनीहरू व्यक्तिपिच्छे दल खोलेर जाँदैछन्। मतविभाजन हुँदा त्यसको सिधा फाइदा पुरानाले लिन सक्ने बताउँछन् रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की। उनको इसारा सभापति लामिछानेप्रति हो। जो सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधजस्ता कसुरमा मुद्दा चलेर पुर्पक्ष्का लागि थुनामा छन्। पोखराको सुर्यदर्शन, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको साहारा, बुटवलको सुप्रिम र पर्साको सानोपाइला सहकारी ठगीमा उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ। सम्पत्ति शुद्धीकरणमा पनि छुट्टै मुद्दा छ। अन्य अदालतबाट धरौटीमा छुटेका रवि सुप्रिम सहकारीको मुद्दाले कारागारमा छन्। यी सबै मुद्दाको अन्तिम टुंगो लाग्न वर्षौँ लाग्न सक्छ। रविकै लोकप्रियताका कारण एकाएक ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित भएको रास्वपाप्रतिको क्रेज उनी जेल परेपछि क्रमशः घट्न थालेको छ। कुलमान र बालेन्द्रको उपस्थितिले पार्टीका प्रभावशाली नेताहरू डराएको कार्कीको आरोप छ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल