Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसद्मा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा छलफल भएको हो। बैठकमा लामिछानेले संसद्मा प्रस्तुत हुँदा सांसद तथा मन्त्रीहरूले अपनाउने व्यवहार, भाषा र शैलीप्रति विशेष चासो राखेका थिए।
पछिल्लो समय संसद्मा हुने प्रश्नोत्तरका क्रममा केही मन्त्रीहरूले सांसदलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको तथा आफ्ना माग सम्बोधन नभएपछि सांसदहरूले पनि अमर्यादित र रुखो व्यवहार प्रदर्शन गर्ने गरेको भन्दै आलोचना हुँदै आएको छ। यही सन्दर्भमा रास्वपाले आफ्ना सांसदसँग छलफल गरेको हो।
छलफलमा जनताका मुद्दालाई संसद्मा प्रभावकारी, स्पष्ट र मर्यादित ढंगले कसरी प्रस्तुत गर्ने भन्ने विषयमा समेत विचार–विमर्श भएको जनाइएको छ।
संसद्मा रास्वपाका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार, संयमित र प्रभावकारी बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिएका थिए। उनले जनताका सवाल उठाउँदा विषयवस्तुमा केन्द्रित हुँदै संसदीय मर्यादा कायम गर्न निर्देशन दिएको बताइएको छ।
रास्वपाका सांसदहरूले संसदीय समिति तथा संसद्का बैठकमा असन्तुष्टि व्यक्त गर्दा कतिपय अवस्थामा शैलीगत सन्तुलन गुमाएको भन्दै आलोचना हुँदै आएको छ। सोही विषयलाई ध्यानमा राख्दै पार्टी सभापति लामिछानेले सांसदहरूको प्रस्तुतिमा सुधार आवश्यक रहेको बताएका हुन्।
पार्टीले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्दै जनताका मुद्दालाई जिम्मेवार र मर्यादित ढंगबाट उठाउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ।
२०८३ भाद्र ३
ताजा नेपाल
२०८३ भाद्र ३
ताजा नेपाल
२०८३ भाद्र ३
ताजा नेपाल