Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रिपोर्टले भन्यो, महिला प्रहरीको ज्यान गोरी प्रहारबाट

विराटनगर । मोरङको लेटाङको हिंसात्मक आक्रमणमा परेर ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली प्रहारबाट भएको खुलेको छ । चैत ६ को उक्त घटनामा उत्तेजित भीडले घाँटीमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा जनाएको थियो । अदालतमा बुझाइएको पोस्टमार्टम रिपोर्टमा उनको गोली लागेर मृत्यु भएको उल्लेख छ । प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको दस्ताबेजमा उनको शरीरबाट गोली निकालिएको भनिएको छ । झडपलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले केही राउन्ड हवाई फायर गरेको थियो । प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाको परीक्षण रिपोर्टमा जवान श्रेष्ठलाई लागेको गोली प्रहरीले प्रयोग गर्नेभन्दा छुट्टै भएको उल्लेख छ ।
मोरङको सरकारी वकिल कार्यालयका अनुसार हिंसात्मक भीडले महिला प्रहरीलाई गोली प्रहारसहित लाठी, ढुंगा र सिसाको बोतल प्रहार गरेर हत्या गरेको प्रहरीको प्रतिवेदनमा छ । प्रदर्शनकारीद्वारा गोली प्रहार भएको पुष्टि भए पनि घटनाको एक महिना बित्न लाग्दा प्रहरीले उक्त हतियार भने फेला पार्न सकेको छैन । मोरङका प्रहरी प्रमुख एसपी शान्तिराम कोइरालाले अनुसन्धानका क्रममा गोली प्रहार गर्नेको पहिचान नभएपछि तत्काललाई केवल कर्तव्य ज्यान मुद्दामा आरोपीहरूलाई अदालतको जिम्मा लगाइएको बताए । ‘पछि गोली प्रहार गर्नेको पुष्टि भएको अवस्थामा अर्को जाहेरी पठाउँछौं,’ उनले भने । लेटाङ–५ खेरुवाका शिक्षक मनोज पौडेलले कक्षा ६ मा पढ्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि विद्यालयमा बैठक भएको थियो । शिक्षकहरूले पौडेललाई प्रहरी बोलाएर बुझाउन लागेका थिए । भीड विद्यालय परिसरमा पस्यो र तोडफोडसँगै हिसात्मक प्रदर्शनमा उत्रियो । स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि भीडले आक्रमण गर्दा श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो ।
यो प्रकरणमा ज्यान मुद्दा अभियोगमा पक्राउ गरिएका एक १४ वर्षीय किशोरलाई जिल्ला अदालत मोरङले मंगलबार अभिभावकको जिम्मा लगाउने फैसला गरेको छ । घटनामा संलग्न आरोपमा पक्राउ गरिएका ६ जना नाबालिगमध्ये पाँचलाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो भने एक जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले नाबालिगलाई अभिभावकको जिम्मा लगाउने आदेश दिएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए । उनका अनुसार कारागारमा राख्नलाई बाल सुधार केन्द्र नभएको र १४ वर्षमुनिका नाबालिग कर्तव्यज्यान मुद्दामा संलग्न भए शतप्रतिशत सजाय नहुने भएकाले अभिभावकलाई बुझाएर पुर्पक्ष गर्ने प्रावधानअनुसार गरिएको हो । घटनामा संलग्न भएको दाबीसहित प्रहरीले थप २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएको छ । बुधबारदेखि उनीहरूको थुनछेक बहस सुरु हुनेछ ।