Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रिलायन्सको आईपीओ विवाद सिआईबी हुँदै न्यायालयमा

काठमाण्डौ। रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक विवादास्पद बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासनको विषय थप पेचिलो बनेको छ ।
यो कम्पनीले अस्वभाविक मूल्य तोकेर आईपीओ निश्कासन गर्ने मिति तोकिसकेको अवस्थामा चलखेलबाट स्वीकृति दिएको विषयमा तीव्र विरोध भएपछि अन्तिम अवस्थामा स्थगन गर्नुपरेको थियो । नेपाल धितोपत्र बोर्डकै चलखेलमा रिलायन्सलाई आईपीओ निश्कासनको अनुमति दिइएको अवस्थामा संसदको सार्वजनिक लेखासमितिको हस्तक्षेपपछि प्रक्रिया स्थगित भएको थियो । त्यसपछि धितोपत्र बोर्डले यो विषयमा थप अध्ययन गरिएको दाबी गरेको थियो । बोर्डले थप अध्ययन गरेर प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिई थप अनुसन्धान गर्न भनेको थियो । धितोपत्र बोर्डले आफूले प्रतिवेदन दिंदा रिलायन्सको आईपीओ निश्कासन तथा स्वीकृतिको प्रक्रियामा कुनै कैफियत नभएको प्रतिवेदन दिएपछि सीआईबीले समेत सोही प्रतिवेदनलाई सदर गर्दै थप अनुसन्धान आवश्यक नरहेको निश्कर्ष निकालेको थियो । धितोपत्र बोर्ड र सीआईबीको पछिल्लो निश्कर्ष नै शंकास्पद देखिएको छ । लगानीकर्ता हरिबहादुर केसीकाअनुसार धितोपत्र बोर्ड र सीआईबीबाट विषयको छिनोफानो नभएपछि रिलायन्स स्पिनिङ मिल्स आईपीओको विषयमा अब अदालतले नै छिनोफानो गर्नेछ । उनकाअनुसार आगामी भदौ १२ गते रिलायन्सको आईपीओको विषयमा परेको मुद्दाको अदालतमा पेशी रहेको छ ।
यसअघि सीआइबी र लगानीकर्ताहरुबीच रिलायन्स स्पिनिङ मिल्सको विषयमा सीआइबी परिसरमा नै चर्काचर्की परेको पनि केसीले जानकारी दिए । उनका अनुसार धितोपत्र बोर्डले हालको प्रक्रिया ठीक रहेको भन्दै प्रतिवेदन बुझाएको भरमा सीआईबीले पनि त्यसैलाई सदर गरिएको जवाफ लगानीकर्तालाई दिएपछि चर्काचर्की परेको थियो । यसैबीच, लगानीकर्ताले बुक बिल्डिङ विधिमा न्यूनतम ५० कित्ता भर्नैपर्ने नियम सर्वसाधारणमैत्री र नेपालको आईपीओको अबधारणाविपरीत भएको आरोप लगाएका छन् । यो व्यवस्थाले सर्वसाधारणलाई आईपीओबाट बञ्चित गर्न खोजेको लगानीकर्ताले बताएका छन् । यस्तै, रिलायन्सले आईपीओ निश्कासन गर्दा तोकेको मूल्य अत्यधिक रहेको र विभिन्न पक्षको मिलेमतोमा आईपीओको नाममा सर्वसाधारणलाई लुट्न यस्तो योजना बनाइएको समेत आरोप लाग्ने गरेको छ । केही समय पहिले नेपाल सेयरधनी संघले आयोजना गरेको एक कार्यक्रममा लगानीकर्ता डा। केशव श्रेष्ठले बुक विल्डिङ विधिको विरोध गरेका थिए ।
लगानीकर्ताले कम्पनीले विद्युतको ७३ करोड बक्यौता नै तिर्न बाँकी रहेको र यस्तो अवस्थामा कम्पनीले कुनै पनि भवितब्य दायित्वलाई प्रोभिजनिङ नगरिएको आरोप पनि लगानीकर्ताहरुले लगाएका छन् । विद्युतको बक्यौता रकमसम्बन्धी कम्पनीले मुद्दा हारेमा कम्पनीले पैसाको जोहो कसरी र कुन स्रोतबाट गर्छ भन्नेमा लगानीकर्ताले चासो व्यक्त गरेका छन् । तर, कम्पनीको तर्फबाट यस्ता विषयमा हालसम्म कुनै प्रष्टीकरण दिइएको छैन । कम्पनीका प्रमोटर विभिन्न निकायमा सेटिङ गरेरै रिलायन्सको आईपीओ कुनै पनि हालतमा निश्कासनको प्रयासमा देखिन्छन् । कम्पनीले आफ्नो दायीत्व र त्यसको जोखिम व्यवस्थापनको पक्षमा ध्यान नदिएका कारण भविष्यमा लगानीकर्ताहरुले वर्षौसम्म पनि लाभांश नपाउने त्रास बन्छ । लगानीकर्ता प्रकाश रजौरेले कम्पनीले सरासर ३–४ वटा गलत काम गरेको बिजशालासँग बताएका थिए । साथै, कम्पनीले अचल सम्पतिलाई पूनर्मूल्याँकन गरेर नेटवर्थ बढाएको पनि रजौरेले आरोप लगाए । लगानीकर्ताहरुको उद्देश्य कम्पनीहरुलाई बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्नबाट रोक्नु नभई नियमसंगत र जालझेलबिना आउन दबाव दिनु रहेको उनले बताए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल