Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रुसको जमिन धरौटी, युक्रेनलाई ५० अर्ब डलर ऋण

जी–७ राष्ट्रहरूको शिखर सम्मेलनमा बिहीबार युक्रेनलाई ५० अर्ब डलर ऋण जुटाउन रुसको जफत गरिएको सम्पत्ति प्रयोग गर्ने सहमति भएको छ । युक्रेनले यो रकम प्रयोग गर्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, यो रुसका निम्ति अर्को चेतावनी हो कि हामी पछि हटिरहेका छैनौँ । जवाफमा रुसले यसको परिणाम धेरै दर्दनाक हुने चेतावनी दिएको छ ।

युक्रेनको दीर्घकालीन विकासका लागि यो रकम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । इटालीमा जारी जी–७ को शिखर सम्मेलनका क्रममा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन र अमेरिकाबीच १० वर्षका निम्ति दुईपक्षीय सुरक्षा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । युक्रेनले यो सम्झौतालाई ऐतिहासिक भनेको छ ।

सम्झौतामा युक्रेनलाई अमेरिकी सैन्य प्रशिक्षणबारे उल्लेख छ । तर, युद्धका निम्ति अमेरिकी सेना नै युक्रेन जाने उल्लेख छैन ।
सन् २०२२ मा रुसले युक्रेनमाथि हमला गरेपछि युरोपेली संघका साथै जी–७ ले लगभग ३२५ अर्ब डलर मूल्यको रुसी सम्पत्ति फ्रिज गरिदिएको छ । यो सम्पत्तिले हरेक वर्ष तीन अर्ब डलर ब्याज कमाइरहेको छ ।

जी–७ को योजनाअनुसार, तीन अर्ब डलरको प्रयोग युक्रेनका लागि अन्तर्राष्ट्रिय बजारबाट लिइने ५० अर्ब डलरको ऋणको बर्सेनि ब्याज तिर्न प्रयोग गरिनेछ ।

बिहीबारदेखि इटालीको अपुलियामा तीनदिने जी–७ बैठक सुरु भएको हो । जी–७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका समेत सात सदस्य राष्ट्र छन् । यसअघि, रुस समेत जी–८ रहेकामा क्राइमियालाई अपदस्थ गरेपछि उसको सदस्यता निलम्बन गरिएको थियो । अहिले इटाली जी–७ को अध्यक्ष छ ।

विश्वव्यापी कुल गार्हस्थ उत्पादन ९जीडीपी०को ३० प्रतिशत जी–७ राष्ट्रले ओगटेका छन् । अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेई र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अतिथिका रूपमा यसपालि शिखर सम्मेलनमा निमन्त्रणा गरिएको छ । बीबीसी