Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ललितपुरको मतगणना स्थल पुगे बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह ललितपुर महानगरपालिकाको मत गणना स्थल पुगेका छन् । ललितपुर महनगरपालिकाको वडा नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिक़ा रुपमा मत गणनामा सहभागी हुन साह त्यहाँ पुगेका हुन् ।
साहले काठमाडौं महानगरको मेयरमा सुरुवातदेखि नै फराकिलो मतान्तरका साथ अग्रता लिइरहेका छन् । पछिल्लो परिणाम अनुसार १६ हजार ५२ मत ल्याएका छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ३४५ मतका साथ पछ्याइरहेका छन् । गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ५११ मत पाएकी छन् ।

प्रतिनिधि बस्न पाएनन् अनुमति
काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह आज ललितपुरको मतगणनास्थल पुगे । एक स्वतन्त्र उम्मेदवारको प्रतिनिधिका रुपमा मतगणनामा बस्न गएका बालेन त्यसका लागि अनुमति नपाएपछि फर्किएका छन् । ललितपुर महानगरको मतगणनास्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा बालेन केही साथीहरुसहित गएका थिए । त्यहाँ निर्वाचन आयोगका प्रतिनिधिहरुसँग कुरा गर्दा अर्को नगरको व्यक्तिले प्रतिनिधि बस्न नपाइने जानकारी उनले पाए ।
ललितपुरको वडा नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार बालेनका राजनीतिक गुरु हुन् । व्यञ्जनकारले पञ्चायतकालदेखि निरन्तर हरेक चुनावमा भाग लिएर वडाध्यक्ष जित्दै आएका छन् । उनका छोरा कुमार बालेनका निकट सहयोगी हुन् । उनले यो चुनावमा आफ्नो पितालाई भन्दा बालेनलाई बढी समय खर्चिरहेका छन् । प्रतिष्ठानको भवनमा बालेनको प्रवेश हुँदा सञ्चारकर्मी उनीतिर झुम्मिएका थिए । केही सञ्चारकर्मीले उनीसँग कुरा गर्न खोजे पनि उनले बोल्न मानेनन् । बालेनको आग्रहमा सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोकेका थिए ।