Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लिपुलेकबारे भारतको कूटनीतिक जवाफ आएको प्रधानमन्त्रीको जानकारी

काठमाडौं । लिपुलेक प्रयोगसम्बन्धी नेपालको कूटनीतिक नोटको जवाफ भारतले पठाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभालाई जानकारी दिँदै भारतबाट औपचारिक जवाफ प्राप्त भएको बताएका हुन्।

सरकारले २० वैशाखमा लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने तयारीप्रति आपत्ति जनाउँदै भारत र चीन दुबै देशलाई कूटनीतिक नोट पठाएको थियो। सो नोटमार्फत नेपालले उक्त क्षेत्र आफ्नो सार्वभौम भूभाग भएको दाबी दोहोर्याउँदै आपत्ति जनाएको थियो।

प्रधानमन्त्री शाहका अनुसार भारतले पठाएको जवाफमा विवाद समाधानका लागि वार्तामार्फत अघि बढ्ने उल्लेख गरिएको छ। उनले संसद्मा भने, “दुवै सरकारले इतिहासविद्, सर्वेयर तथा भूमि सम्बन्धी विशेषज्ञहरूको सहभागितामा टेबल टकमार्फत समस्या समाधान गर्ने कुरा भएको छ।”

नेपालले लिम्पियाधुरा मुहान भएको महाकाली नदीलाई आफ्नो पश्चिमी सीमा मान्दै आएको छ। सन् १८१६ को सुगौली सन्धिलगायत ऐतिहासिक दस्तावेजका आधारमा उक्त क्षेत्र नेपालको भएको दाबी गर्दै आएको छ।

भारत र चीनले लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने तयारी सार्वजनिक गरेपछि नेपालले औपचारिक कूटनीतिक आपत्ति जनाएको हो। भारतीय विदेश मन्त्रालयले भने उक्त मार्गमा यात्रा लामो समयदेखि सञ्चालन हुँदै आएको दाबी गरेको थियो।

प्रधानमन्त्रीले चीनबाट आएको कूटनीतिक जवाफबारे भने संसद्मा जानकारी दिएका छैनन्। साथै, उनले इङ्गल्याण्ड सरकारसँग पनि सीमा सम्बन्धी विषयमा छलफल भइरहेको बताएका छन्।