Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लुम्बिनीमा शंकरलाई पर्याे सकस

बुटवल । जनता समाजवादी पार्टी जसपाबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका ४ सांसदलाई पार्टीले कारबाही गरेपछि सो प्रदेशको राजनीति उथलपुथल मात्रै भएको छैन मुख्यमन्त्री शंकर पोखरेलको पद समेत धरापमा परेको छ । राजीनामा दिएर एकल बहुमतीय सरकार बनाउने योजनामा रहेको एमालेलाई एक सांसदले साथ छोडेपछि पोखरेलको योजनामा क्षणभरमै तुहिन पुगेको छ । शंकर पोखरेललाई मात्रै होइन सत्ताको खेलमा लागेको जसपालाई थप घाटा लागेको छ । लुम्बिनीमा जसपा नेपालका ६ जना सांसद थिए । त्यसमध्ये सन्तोषकुमार पाण्डे, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले मुख्यमन्त्री पोखरेललाई समर्थन गर्दै मन्त्रीमा सपथ लिएका थिए । यसरी पार्टीको ह्वीपलाई उल्लघंन गरेको भन्दै जसपा प्रदेश समितिले चारैजना सांसदलाई कारवाही गरिसकेको छ । कारबाहीपछि चारैजनाको सांसद र मन्त्री पद दुवै गयो ।

पछि चारैजनालाई पुनः सपथग्रहण गराउने चर्चा चलिरहेकै बेला मुख्यमन्त्री पोखरेलले आफै एकल पार्टीको सरकार बनाउने भन्दै राजीनामा दिए तर त्यो राजीनामा उनैको निम्ति पद त्यागको औजार बन्यो । न जसपा नेपालसँग सांसद रह्यो न मन्त्री । जसपा नेपालका कार्यकारिणी समितिका सदस्य दानबहादुर चौधरीले केन्द्रीय नेतृत्वको विवादका कारण जसपा नेपाललाई घाटा भएको बताएका छन् । पार्टीले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने निर्णय गरिसकेको थियो । सोहीअनुसार दर्ता पनि गराइसकेको थियो तर पार्टीकै अर्को महन्थ ठाकुर पक्षले मुख्यमन्त्री पोखरेललाई समर्थन गर्न लगाएपछि पार्टीमा घाटाको नतिजा देखिएको हो । एमालेले जसपा नेपाललाई ट्रयापमा पारेको कुरा शीर्ष नेताहरुले समयमा बुझ्न नसकेको उनले बताएका छन् । उनले भने सदस्य संख्या कम गर्दै गएपछि एमालेले आफ्नो बहुमत कायम गरेको हो, यदि जसपा नेपालका चारजना सांसद र माओवादी केन्द्रका दुईजना सांसद कारवाहीमा नपरेको भए आज मुख्यमन्त्री पोखरेल यस्तो कदम उठाउन सक्दैनथे । वर्तमान संकटका बीच अब जसपा नेपाल के कस्ता रणनीति बनाएर अगाडि बढ्ने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको नेता चौधरीले बताएका छन् । जसपा नेपालका अर्का कार्यकारिणी समितिका सदस्य गोविन्द चौधरीले पार्टीको लाइन स्पष्ट नभएको कारण यस्तो अवस्था आएको बताएका हुन् । सोही प्रदेशमा रहेका नेता चौधरीले भने जसपा नेपालका शीर्ष नेताहरुले पार्टीमा छलफल गरी आफ्नो लाइन पनि स्पष्ट गर्न सक्नु भएन, नेता तथा कार्यकर्तालाई स्पष्ट दिशा दिन र विश्वास दिलाउन सक्नु भएन । त्यही भएर अहिले भएका चारजना सांसदबाट हात धुनु पर्यो ।

जसपा नेपाल अर्काका लागि मात्र सहिद भइरहेको टिप्पणी गर्दै नेता चौधरीले पार्टीभित्रका एक पक्ष केपी शर्मा ओलीतिर र अर्को पक्ष प्रचण्डतिर तानिँदा बीचमा कार्यकर्ताहरु अलमलमा रहेको बताए । एमाले अध्यक्ष समेत प्रधानमन्त्री केपी अ‍ोलीले कस्तोसम्मका खेल खेल्न सक्छन् भने कुरा लुम्बिनीको घटनाबाट प्रष्ट भएको पनि उनले बताए । जसपाका नेताहरुले एमालेको अचानोमा जसपालाई पार्ने काम भएको भन्दै आक्रोश समेत पोखेका छन् । अहिले लुम्बिनी प्रदेश सभामा ८१ सदस्य छन् । प्रदेश सभामा एमालेका ४१, माओवादीका १७, काँग्रेसका १९, जसपाका २ र जनमोर्चाका १ सांसद छन् । नेकपाबाट लुम्बिनी प्रदेशसभा सदस्यमा विजयी विमला केसी माओवादी केन्द्रमा लागेकी छिन् । उनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई सम्बोधन गरेर पत्र लेख्दै आफू माओवादी केन्द्रमा लागेको जानकारी गराए पछि शंकर पोख्रेलको योजना तुहिएको हो ।

केसीको पत्रमा के छ ?

सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाबाट नेकपा पार्टी नरहेकाले आफू नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभाको दल सदस्य भइ क्रियाशिल रहन इच्छुक भएकाले सो पार्टीको दलको सदस्य माग गरिएको छ । सो पत्र उनले गत चैत २५ मै लेखेको भएपनि आइतबारमात्रै स्वीकृत भएको थियो । सोही पत्रपछि राजीनामा दिएर फेरि मुख्यमन्त्री बन्न दावी पेश गरेका एमाले नेता शंकर पोखरेल अल्पमतमा परेका छन् । नयाँ सरकार गठनका लागि ४१ सांसद चाहिनेमा विमला माओवादीतिर लागेपछि पोखरेलको पक्षमा ४० सांसदमात्रै रहेका छन् ।