Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लेखक भन्छन्– काँग्रेस फुट्छ कि जुट्छ गगनजीहरूलाई नै थाहा छ

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र पार्टी सञ्चालनलाई लिएर विवाद चर्किरहेका बेला संस्थापनइतर पक्षका नेता रमेश लेखकले पार्टी एकता वा विभाजनको विषय सभापति गगन थापा पक्षकै भूमिकामा निर्भर रहेको बताएका छन्।

कांग्रेस फुट्छ कि जुट्छ भन्ने प्रश्नमा लेखकले त्यसको जवाफ गगन थापा पक्षसँगै रहेको दाबी गरे। उनले भने, ‘कांग्रेस फुट्छ कि जुट्छ, गगनजीहरूलाई नै थाहा छ। उहाँहरूले फुटाउनुहुन्छ कि जुटाउनुहुन्छ।’

लेखकले पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किएको एक साता बितिसक्दा पनि पार्टीका शीर्ष नेताहरूले उनको स्वास्थ्य अवस्था बुझ्न नजानुलाई अर्थपूर्ण रूपमा लिएका छन्। यसले गगन थापा पक्षको राजनीतिक दिशाबारे संकेत गर्ने उनको दाबी छ।

‘पूर्वसभापति शेरबहादुर देउवा नेपाल आउनुभएको एक साता बितिसकेको छ। अहिलेसम्म शीर्ष नेताको हालखबर र स्वास्थ्य अवस्था सोध्न उहाँहरू जानुभएको छैन भनेपछि उहाँहरू कुन दिशामा हुनुहुन्छ, आफैँ विश्लेषण गरौँ,’ लेखकले भने।

उनले आफूहरू कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने पक्षमा निरन्तर प्रयासरत रहेको दाबी गर्दै थापा पक्ष भने त्यसमा लचिलो हुन नसकेको आरोप लगाए।

कांग्रेसभित्रको विवाद पुनरावलोकनको माग गर्दै अदालतसम्म पुगेको अवस्थामा अब अदालतको फैसलापछि मात्रै विवादका विषयले स्पष्ट दिशा लिने लेखकको भनाइ छ। अदालतको निर्णयपछि पार्टीभित्रको वर्तमान परिस्थितिबारे टुंगो लाग्ने उनले बताए।

पछिल्लो समय कांग्रेसमा नेतृत्व, पार्टी सञ्चालन र आन्तरिक शक्ति सन्तुलनलाई लिएर संस्थापन र संस्थापनइतर पक्षबीचको मतभेद थप गहिरिँदै गएको छ। दुवै पक्षका नेताहरूबाट सार्वजनिक रूपमा आरोप–प्रत्यारोप बढ्दै जाँदा पार्टी एकता कायम रहने वा विभाजनतर्फ जाने विषयमा समेत बहस तीव्र बनेको छ।