Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वरिष्ठलाई लोप्पा दिँदै तिवारी बने महाप्रबन्धक

काठमाडौं । देशको राष्ट्रिय अस्मितासँग जोडिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यतिखेर नातावाद र गुटवादको चलखेल बढेको छ । पहिले विमानस्थलमै रहेर दुई महाप्रबन्धकहरुलाई सताएका प्रताप तिवारी १२औं तहमा बढुवा भएको महिना दिन नबित्दै विमानस्थलको महाप्रबन्धक बन्न सफल भएका छन् । उनलाई सो पद दिलाउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नागरिक उड्डयन प्राधिकरणका प्रदीप अधिकारी त लागे लागे महानिर्देशक राजन पोखरेलको दिमागमा पनि प्राधिकरणमा उनीभन्दा वरिष्ठ उपमहानिर्देशकहरु छन् भन्ने ध्यानै गएन । पोखरेललाई पद जोगाउन आफू काँग्रेस भए पनि कम्युनिष्टको नाममा राईदाई गर्दै आएका प्रदीपहरुले साथ दिए ।

सरुवा बढुवामा त्यस्तै बेथिति छ । गुटको खोजी र क्षमताहिनहरुको जमघटले प्राधिकरणले देखाउनु पर्ने काम देखाउन सकिरहेको छैन । आन्तरिक अपराधलाई नियन्त्रण गर्ने विभागीय मन्त्रीले हो । तर, त्यहाँ पानी लौरा मन्त्री मात्र पुगे । स्व. रविन्द्र अधिकारीले पर्यटन मन्त्रालयमा आफ्नै छाप छाडेका थिए । उनी बिदा भए । आएका अरु सबैको ताल प्राधिकरण सुधार्ने भन्दा कमाउने तिर केन्द्रीत भयो । त्यसो त योगेश भट्टराईले हेलिकोप्टर चढेको रु ६ लाख ५० हजारको बील नागरिक उड्डयन प्राधिकरणमा टेबुल सर्दै थन्किँदै गरिरहेको छ । प्राधिकरणको १२औं वार्षिकोत्सवमा कर्मचारीहरुलाई पुरस्कृत गर्दा पनि पक्षपात गरियो । त्यहाँ दक्षताको नामै लिइएन ।

उता, विमानस्थलमै (सीयुटी) कट सिस्टमलाई सीयुपीपी भनेर टेण्डर खोलेका देवेन्द्र केसी महाप्रबन्धकबाटै अवकाश भए । विवादित एरिङ कम्पनीलाई नियम मिचेर ठेक्का दिइयो । यात्रुहरुको बोइङ पास, लगेज, डाटा इन्ट्री जस्ता काम गर्ने कम्पनीलाई प्रतिस्पर्धाका आधारमा भित्र्याउनु पर्दथ्यो । तर यहाँ तराई मुलका एक प्रतिष्ठित व्यक्तिले भारतमै डिलिङ गरे, भारतमै पैसाको मोलतोल भयो, भारतमै काम गर्ने अमेरिकी कम्पनीलाई कट सिस्टममा प्रवेश गराइयो । यहाँ पैसाको ठूलो चलखेल भएकाले प्रधानमन्त्री कार्यालय, संसदका समितिहरु, अख्तियार सबैतिर उजुरी पर्यो । तर छानविन कसैले गरेनन् । अन्तर्राष्ट्रिय विमानस्थलजस्तो स्थानमा पठाइएका महाप्रबन्धक पनि पैसा र सोमरसमा रमाउने भएपछि बिग्रेको विमानस्थलको व्यवस्थापन सप्रेला कसरी ? यसको चिन्ता नत महानिर्देशक राजन पोखरेललाई छ नत नत पर्यटनमन्त्री भानुभक्त ढकाललाई नै छ ।