Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वाम सहकार्य भड्काउने भित्री योजना

काठमाडौं । जनता र कार्यकर्ताको ध्यान एक वाम एक ठाम छ । एमाले नेतृत्व भने प्रचण्ड सरकारले चलाएको सुन तस्करी, ललिता निवास, नक्कली भुटानी शरणार्थी, एनसेलको कर काण्डको छानविन पचाएको छैन । झापाको गिरिबन्धु टिस्टेट काण्डका नायक अध्यक्ष अ‍ोली र सुन तस्कर दिपक मलहोत्रामाथि सर्वोच्चकै फैसलाले नांगेझार बनाइदिएको रिस पनि सरकारसँगै पोख्दैछ । काँग्रेसको थाङ्ने चरित्रले देशको हित गर्दैन । त्यो काँग्रेस देशका साना ठूला भ्रष्टाचारमा जोडिएको छ । दिपक मलहोत्राले गिरिबन्धुको २५ बिगाहा जमिन डा. आरजुलाई बुझाउने रहस्य पर्दाफास भयो । एमालेको ओली गुटलाई अहिलेसम्मको छानविनले आतंकित बनाएको छ । यही स्थिति रहेमा ओली कालका नीतिगत लुटको छानविन हुने डरका कारण माओवादीसँगको सत्ता गठबन्धन टुटाएर काँग्रेसलाई प्रधानमन्त्रीको ललीपप दिन एमाले तयार छ । एमाले भनेकै सामूहिकता भन्दा व्यक्ति केन्द्रीत चरित्र बलियो भयो । त्यो चरित्रमा केपी ओली प्रभु बने । उपाध्यक्षहरू ओलीका अगाडि दाश छन् । ईश्वर पोखरेल, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावली भनेका स्पष्ट धारणाको अभाव र पदको सुरक्षामा केन्द्रीत हुँदा बा संस्कृति एमालेमा बढ्न पुग्यो ।
माओवादीका वर्षमान पुन, देव गुरुङ, जनार्दन शर्मा, एमालेका विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वी सुब्बा सम्मको पार्टी सहकार्य सम्बन्धी छलफल चलेको भए पनि मुर्त रुप लिएको छैन । वाम सहकार्यका लागि माओवादी अध्यक्ष जति लचक छन् एमालेका केपी ओली त्यति अराजक र कठोर छन् । नेपालका वामपन्थीहरूमा घातक बनेर दखिएका ओलीलाई जनताको गरिबी र बेरोजगारीमा चासो छैन । कम्युनिष्ट पार्टीको सरकार छँदा रोजगारीका अवसर कतै खुलेन बरु दलका समकक्षीहरूलाई हेप्ने र गुप्तचर, सम्पत्ति शुद्धिकरण, राजश्व अनुसन्धान, प्रम कार्यालय लगेर पंगु बनाइयो । किसान र मजदुरको पीडा त्यहाँ हेरिएन । जनतालाई राहतको कुरै उठेन । तिनै ओली वर्तमान सरकारको भ्रष्टाचार नियन्त्रण अभियानबाट तर्सेका छन् । उनी नीतिगत लुटमा सहभागी थिए । चरित्रका रुपमा समेत विवादित मान्छे काखी च्याप्दा केपी ओलीबाट कार्यकर्ताले गर्ने चाहना नयाँ छैन । आफ्नो एकलौटी निर्णयमा कसैले प्रश्न उठाउन नपाउने अवस्था ओली कालमा छ । एमाले ओरालो लाग्नुको कारण केपी ओलीको प्रभुत्ववाद दोषी छ । तर पनि देशले वामपन्थी गठबन्धन खोजेको छ । केपी ओलीलाई रिश जनताको सेवा गर्नेमा छैन, आफू सबैथोकका विज्ञ, अरु नालायक ठान्ने हेपाहा चरित्रसँग छ । यो केपीको गहना हो । एमाले अस्थिरताको नायक पार्टी बन्न पुग्नु नै अध्यक्षको असक्षमता हो । एमालेको युवा पुस्ता केपीलाई प्रभु बनाएर मौकामा चौका हान्ने छ । गोकुल बास्कोटा, सूर्य थापा, महेश बर्तौलाहरूको संसदमा प्रस्तुती संसदीय व्यवस्थामा सुहाएकै छैन । उनीहरू प्रधानमन्त्रीको प्रश्नोत्तरलाई हिज्जे प्रतियोगितामा रुपान्तरण गर्न तत्पर छन् । सभामुख देवराज घिमिरेले सभामुखका रुपमा आफूलाई स्थापित गर्न नसक्दा संसदमा समेत एमालेका गतिविधि पाच्य छैनन् । देश भ्रष्टाचारको दलदलमा लैजाने एमालेका ओली मण्डली हो । जसले नेकपा कालमा मुलुककै शिर झुक्ने काम भएका थिए । राज्यलाई आउने राजश्व आफू लुड्याएर कानुनी रुपमा माफिया पोस्ने काम भएका छन् । पशुपतिको जलारी काण्ड र गिरिबन्धुको लुटले एमालेका नेताको छाला सियोले घोचेर नछेडिने भएको छ । कम्युनिष्टको सत्ताकालमा झण्डै दुई तिहाई जनमत थियो । त्यसको सदुपयोग गर्नु सट्टा आफ्नो स्वार्थमा प्रयोग गर्न केपी सफल भए । अहिले उनी वामपन्थी सहकार्य भत्काउने दाउमा छन् । ओलीले खेदो खनेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बन्नै नदिनेमा छ । १० सिट माओवादीले जिताए पनि त्यो पार्टीका सांसदमा गुन र बैगुन देखिने र महसुस गर्ने काम भएन । पार्टी फुटाएको र गठबन्धन बनाउने बाटो खुलाएको दाबी गर्ने झलनाथ खनाल इलामको उपनिर्वाचनमा एमालेको टिकट पाए पार्टी प्रवेश गर्ने गरी खुट्टा उचालेका छन् । वामपन्थी चरित्रमा मौलाएको स्वार्थका खजना धेरै छन् । जनताले स्वार्थ मिल्ने बीचमा एकै एजेन्डा मिल्ने दृष्टिकोण र कार्यक्रमका बीचमा तालमेल गर्नु पर्ने देशको बध्यता छ । तर एमाले भने त्यसमा जोडिन चाहेको छैन । सहकारी पीडित र मिटरब्याज पीडितका बारेमा एमाले बोल्दैन । किनकि यी दुवै शोषणमा एमालेका मान्छे सहभागी छन् । आफ्नालाई जोगाउने केपी ओलीले भ्रष्टहरूलाई जोगाउन वर्तमान सत्ता गठबन्धन भत्काउन सक्रिय भएका छन् भन्दा फरक पर्दैन । किनकि ओली पथका लागि वामपन्थी भन्दा रास्वापा, राप्रपा जस्ता प्रतिगामीहरूनै मित्र बनेको देखिन्छ ।