Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

वामदेव र रावलको बाटो छेक्ने राजेन्द्र

काठमाडौं । नेकपा एकीकृत समाजवादीको ताल सुधारात्मक छैन । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सो पद अनुसार समकक्षी पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडतोड गर्नु पर्दा पत्याइने भएकाले सर्वसम्मत अध्यक्ष सुम्पिइएको हो । युवाको नेतृत्व गर्दै आफू अध्यक्ष हुने चाहना राखेका घनश्याम भुसाललाई प्रधानमन्त्री केपी ओलीले मात्रै होइन, अरु दलका नेताहरूले समेत झुलाइदिए भने पार्टीको हैसियत कहाँ पुग्छ भन्ने तर्क प्रस्तुत गर्दै भुसाललाई महासचिवमा थन्क्याउने राममणि पोखरेलहरू अहिले दंग छन् । जबजको सान्दर्भिकता नभएको अवस्थामा वरिष्ठ नेता झलनाथ खनालबाट समाजवादी धार प्रस्तुत गरेपछि थन्किएका माधवकुमार नेपाललाई पार्टी एकता प्रक्रियामा अगाडि बढ्न भने उपाध्यक्ष राजेन्द्र पाण्डेहरूले असहयोग गरेका छन् । समाजवादीबाट बाहिरिने मात्र होइन समाजवादीमा भित्रिनेहरू पनि बढिरहेका छन् । कतिपय ठाउँमा त्यो पार्टीको जिल्ला समिति नै एमालेमा फर्किएको छ भने संगठन विस्तारको निम्ति जिल्ला जाने अभियानमा नेतृत्व छैन । केन्द्रमा बसेर रमाउने समाजवादका कुरा गर्ने नेताहरूले आफ्नो पार्टीको योजना लागू भएको खण्डमा कसरी अगाडि बढ्दा हुन् त्यो भने प्रतिक्षाको विषय बन्नसक्छ । यतिखेर वरिष्ठ वामपन्थी नेता वामदेव गौतम र एमालेबाट खेदिएका डा. भीम रावल एकीकृत समाजवादीमा ठाउँ पाएको खण्डमा प्रवेश गर्ने दाउमा छन् । तर उनीहरूलाई आफ्नो उपाध्यक्ष पद धरापमा पर्ने स्थिति भएकाले राजेन्द्र पाण्डेहरूले उनीहरूलाई स्वागत गर्न चाहिरहेका छैनन् । वामदेवलाई पार्टी भिœयाउँदा के हुन्छ, रावललाई प्रवेश गराएर के फाइदा ? जस्ता तर्क प्रस्तुत गर्ने राजेन्द्र पाण्डेहरूले आफ्नै गृहजिल्ला धादिङमा कस्तो संगठन बनाएका छन् ? एकीकृतको ९३ सदस्यीय पोलिटब्यूरो, ३४४ सदस्यीय केन्द्रीय समिति निर्माण गर्नका लागि जिल्ला, प्रदेशका इञ्चार्ज तथा अध्यक्षहरूले दिएको सुझावअनुसार अघि बढेको हो । त्यहाँ लडाइँ १८ जना पदाधिकारी छनोटमा हुन पुग्यो । किनिक त्यो बेला अध्यक्ष नेपालले पदाधिकारीहरूलाई सर्वसम्मत चयन गर्ने प्रस्ताव गर्दा निर्वाचनका लागि जोड दिने उपाध्यक्ष पाण्डे, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, विरोध खतिवडा, गंगालाल तुलाधर, विजय पौडेल थिए । बलराम बास्कोटा र बेदुराम भुसाल, प्रमेश हमालहरू निर्वाचनबाट पदाधिकारी चयन गर्ने पक्षमा थिएनन् । तर, भीडको अगाडि उनीहरूको केही लागेन । वरिष्ठ नेता झलनाथले हात उठाएर पदाधिकारी छनोट गर्ने प्रस्ताव राख्दा पनि बढी विरोध गर्ने रामकुमारी र विरोध खतिवडा नै अगाडि थिए । निर्वाचनमा रामकुमारीले उपाध्यक्षमा पराजय भोगिन् तर आरोप अध्यक्षमाथि लगाइन् । जबकि सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्षको प्रस्तावको विरोध गर्ने उनै झाँक्री थिइन् । झाँक्रीलाई मन्त्री, भवानी खापुङलाई राज्यमन्त्री बनाउनु नै कलम पार्टीका लागि पाच्य थिएन । बालिखाने बेलामा पद खुस्किएपछि जसरी रामकुमारीको रोदन देखियो, त्यो रोदनले उनमा राजनीतिक परिपक्वता देखिएन । ओलीको योजना जसरी पनि एकीकृत समाजवादीलाई विभाजन गर्ने नै हो । मध्यरातमा किसानकुमार श्रेष्ठहरू ओलीलाई बा भन्दै कोसेली बोकेर बालुवाटार पुग्ने गरे पनि तत्काल उनी एमालेमा फिर्ता हुने अवस्था छैन । तर, प्रेम आलेहरू भने पार्टी विभाजन गरेर एमालेमा प्रवेश गर्ने दाउमा रहेको अवस्था अहिले पनि छ । जुन समयमा प्रधानमन्त्री केपी ओली दल विभाजनको कानुन निर्माण गरी राष्ट्रपति सामु प्रस्तुत गर्दै तयारी गर्दैछन् । उनको त्यो तयारीलाई काँग्रेसका सभापति शेरबहादुर देउवाले साथ दिने अवस्था भने छैन । प्रेम आलेलाई माधव नेपालको गुन बिर्सेर पार्टी विभाजनको स्वीकृति प्रधानमन्त्री केपी ओलीलाई दिने छैन भन्ने सन्देश दिएका शेरबहादुरले आफ्नो शक्ति कमजोर बनाउन वर्तमान सरकारबाट चाहन्छन् भन्ने विश्वास एकीकृतका नेताहरूमा छैन । यतिखेर पार्टी विभाजनको औचित्य सकियो भन्दै कुर्लेका प्रेम आलेहरूको सक्रियता शुन्य छ । तर पनि एकीकृत समाजवादीले विचार मिल्नेहरूसँग पार्टी एकताको निम्ति पहल गर्नु पर्ने धारणा राख्नेक्रम जारी छ । झापा जिल्लाका भाष्कर काफ्लेलाई एमालेको दशौं महाधिवेशनपछि पार्टीमा प्रवेश गराए पनि उनको चरित्र र आचरणले एकीकृतको हित गरेको छैन । चितवनमा तत्कालिन समयमा ओली विरुद्ध लाग्दा ओलीका कार्यकर्ताहरूको घेराउमा परेपछि रातारात भागेर ज्यान बचाएको कारण पार्टी अध्यक्ष माधव नेपालले केन्द्रीय सदस्य बनाइदिएको फल भाष्करको अराजकताले पनि मौलाइरहेको छ । एकीकृत समाजवादीमा विचार र सिद्धान्त भन्दा एमालेमा प्रवेश गर्ने र आफ्नो भविष्यको ख्याल गर्ने अवसरवादीहरूको भीड बढिरहे पनि तत्काल संगठन विस्तार र कार्यकर्ता परिचालन नहुने हो भने कलम पार्टी आगामी निर्वाचनमा रित्तो नहोला भन्न सकिँदैन ।


सम्बन्धित समाचार