Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विचौलिया इनम सापकोटासँग जोडिएका विषयमा निष्पक्ष छानबिन गर्न सर्वोच्चको आग्रह

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले विचौलिया इनम सापकोटासँग जोडिएका विषयमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। सोमबार बसेको पूर्ण बैठकले यस विषयमा पाँचवटा निर्णय गरेको हो।

सर्वोच्च अदालतका न्यायाधीशलाई जोडेर सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारबारे छलफल गर्न पूर्ण बैठक बसेको सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जानकारी दिएका छन्।

बैठकले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको छ। पूर्ण बैठकको पहिलो निर्णयमा भनिएको छ, ‘संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबद्धता हो। यसमा हामी अडिग र स्पष्ट छौँ। संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौँ।’

त्यस्तै, सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा पूर्वाग्रहरहित ढंगले छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

पूर्ण बैठकको दोस्रो निर्णयमा भनिएको छ, ‘सार्वजनिक रूपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानुनबमोजिम छानबिन गरी सत्य, तथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गर्दछौँ।’

सञ्चारमाध्यममा आएका समाचार तथा सापकोटासँग जोडिएका विषयमा हुने छानबिन र अनुसन्धानमा कानुनबमोजिम सहयोग गर्ने प्रतिबद्धता पनि बैठकले जनाएको छ।

तेस्रो निर्णयमा भनिएको छ, ‘सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारण भइरहेका समाचारका सम्बन्धमा संविधान र कानुनबमोजिम हुने छानबिन र अनुसन्धानमा कानुनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता एवं सहयोग गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।’

यसैगरी, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक काममा सक्रिय रहन मातहतका सबै अदालतमा कार्यरत न्यायाधीश तथा कर्मचारीलाई पूर्ण बैठकले आग्रह गरेको छ।

पाँचौँ निर्णयमा भनिएको छ, ‘प्रकाशित र प्रसारित समाचारबाट विचलित नभई सदा झैँ न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतहरूमा कार्यरत सम्पूर्ण न्यायकर्मीहरूलाई आग्रह गर्दछौँ।’