Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विजयादशमीमा प्रधानमन्त्री शाहको शुभकामना : भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले विजयादशमीले असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने बताएका छन्। पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले रावणको अन्त्य गरेको दिनका रूपमा यो पर्व मनाइने उनले स्मरण गराएका छन्।

प्रधानमन्त्री शाहले विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्मको मार्गमा अघि बढ्न प्रेरणा दिने उल्लेख गरेका छन्। टाढा रहेका मान्यजन तथा आफन्तसँग भेटघाट गरी आशीर्वाद लिने संस्कृतिले पारिवारिक सम्बन्ध र आत्मीयतालाई थप प्रगाढ बनाउने उनको भनाइ छ।

विजयादशमीले मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरित गर्ने उल्लेख गर्दै उनले समाजमा विद्यमान भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

प्रत्येक नागरिकलाई राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गराउन सबै क्षेत्र र नागरिक एकजुट हुन आवश्यक रहेको प्रधानमन्त्री शाहले बताएका छन्।

यस्ता विकृति र विसंगति हटाउन इमानदार प्रयास, दृढ संकल्प र सामूहिक मेहनत आवश्यक पर्ने उनको भनाइ छ। वास्तविक परिवर्तनका लागि सोचसँगै व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्ने उनले उल्लेख गरेका छन्।

भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न तथा लामो समयदेखि भेटघाट नभएका साथीभाइ र आफन्तसँग खुसी साटासाट गर्न विजयादशमी महत्त्वपूर्ण अवसर रहेको प्रधानमन्त्री शाहले बताएका छन्।

उनले सबैलाई आ–आफ्नो क्षमता र परिस्थितिअनुसार पर्व मनाउँदै आपसी सद्भाव, एकता, सम्मान र भ्रातृत्व अभिवृद्धि गर्नसमेत आह्वान गरेका छन्।