Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्याको योजनाले ओलीलाई तनाव

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा होमिने योजना थाहा पाएपछि अहिले कोही तनावमा छ भने त्यो तनाव एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै छ । पार्टीभित्र कोही प्रतिस्पर्धीलाई बाँकी नराखेको ओलीले आफैंले दुई दुई पटक राष्ट्रपति बनाएकी पार्टीकी पूर्व उपाध्यक्ष घाँडो भइरहेकी छिन् । नेकपा एमालेले दिवंगत नेता मदन भण्डारीको सम्मानमा स्थापना गरेको संस्था छ– मदन भण्डारी फाउन्डेसन। यसले हरेक वर्ष मदनको जन्मदिन असार १४ गते विविध कार्यक्रमका साथ मनाउँदै आएको छ। त्यसमा दिवंगत भण्डारीकी पत्नी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुँदै आएका छन्। फाउन्डेसनका पूर्वअध्यक्ष महेन्द्रबहादुर पाण्डेका अनुसार काठमाडौँको भृकुटीमण्डपस्थित पुरानो राष्ट्रिय सभागृहको सभाहलमा भएको ७२ औँ मदन जयन्तीको कार्यक्रममा भण्डारी प्रमुख अतिथि थिइन् भने एमाले अध्यक्ष ओली विशिष्ट अतिथि बनाइएका थिए। तर, गत वर्षको ७३ औँ मदन जयन्तीको कार्यक्रम भिन्न बन्यो। एमाले मुख्यालयसमेत रहेको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा कार्यक्रम राखिएको थियो। सो कार्यक्रममा भण्डारी सहभागी भइनन्, ओली मात्र पुगे। भण्डारी भने काभ्रेमा फाउन्डेसनले राखेको अर्को कार्यक्रममा प्रमुख अतिथि बनेर सम्बोधन गर्न पुगिन्। अहिले एमालेमा फर्किएर फेरि सक्रिय राजनीति गर्न तारतम्य मिलाइरहेकी भण्डारीका लागि काभ्रेमा भएको त्यही कार्यक्रम ‘टर्निङ प्वइन्ट’ भएको नेताहरू बताउँछन्। त्यसयताको एक वर्षमा जतिजति भण्डारी एमालेको राजनीतिमा फर्किने चर्चा बढ्दै छ, उति नै उनी एमालेका उपल्लो तहका पदाधिकारीदेखि तल्लो तहका कार्यकर्तासम्मको मन जित्ने प्रयासमा देखिन्छिन्। एमालेबाटै सक्रिय राजनीति गर्ने घोषणा गरेर देश दौडाहामा खटिएकी भण्डारीले सोही अनुसार नेताहरू परिचालन समेत गरिरहेको नेताहरूको भनाइ छ। एमाले विधानबाट केही समयका लागि निलम्बन गरिएको ७० वर्षे उमेर हदको व्यवस्था कायम गराउन नेताहरूले जोडबल गरिरहनुको मुख्य कारण यही हो। तर, ओली उमेर हद नराख्ने मनस्थितिमा पुगिसकेका छन्। किनकि, उनी फेरि एमालेको नेतृत्व गर्न चाहन्छन्। अब भदौमा हुने विधान महाधिवेशनमा यो विषयमा निकै रस्साकस्सी हुने नेताहरू बताउँछन्। उमेर हद राखेर ओलीलाई रोक्ने अनि आगामी महाधिवेशनमा एमालेको नेतृत्व गर्ने योजना बनाइरहेकी भण्डारीका लागि विधान महाधिवेशन महत्त्वपूर्ण छ। त्यसो त ओलीसँग निकट सम्बन्ध बनाएरै भण्डारी आफ्नो योजना सफल पार्न सकिन्छ भन्नेमा पनि छिन्। यद्यपि, उनको तयारी भने एमालेको तल्लो तहसम्म पुग्नेगरी नै भइरहेको छ। त्यही भएर भण्डारीले एमालेको सदस्यता समेत नवीकरण गरिसकेकी छन्। असार ३ गते साँझ प्रधानमन्त्री ओली भेट्न भण्डारी बालुवाटार पुगेकी थिइन्। सो भेटमा भण्डारीले आफू एमालेको राजनीति गर्ने खुलेर बताएको उनी निकट नेताहरूको भनाइ छ। तर एमालेका उपाध्यक्ष गुरु बराल भने ओली र भण्डारीलाई छुट्टाछुट्टै बनाउने केही नेताको प्रयास सफल नहुने बताउँछन्।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल